खोप लाउन मारामार, घण्टाैँ लाइन बस्दा पनि पालो आएन (तस्वीरहरू)

काेराना खाेप केन्द्र अस्तव्यस्त हुँदा संक्रमण जाेखिम

कमल प्रभात

काठमाडौं
तस्वीरहरू–सुहन श्रेष्ठ
तस्वीरहरू–सुहन श्रेष्ठ

काठमाडौंको चावहिलका ५७ वर्षीय श्यामकृष्ण मैनाली बिहीबार दिउँसो कोरोना भाइरसविरुद्धको खोप लगाउनको लागि घर नजिकै ओम अस्पताल पुगे।

सरकारले मंलबारदेखि ५५ वर्ष उमेर माथिकालाई खोप दिन सुरु गरेको थाहा पाएका उनी अस्पताल पुग्दा लामो लाइन् थियो। दिनभर लाइनमा बस्दा पनि खोप लाउन नपाएकाे उनले गुनासाे गरे।

लामो समयदेखि खोपको प्रतिक्षमा रहेका मैनाली दिनभर लाइन बस्दा पनि खोप नपाउँदा राति राम्रो सँग निन्द्र लागेन। शुक्रबार बिहानै परिवारसँग महाराजगञ्जस्थित टिचिङ अस्पतालको खोप केन्द्र पुगे। उनको परिवार खोप केन्द्र पुग्दा सयौं मानिस लाइनमा बसिसकेका थिए।

करिब ८ घण्टा लाइनमा बस्दा समेत उनीहरुको पालो आएको थिएन्। आफ्नो उमेर समूहलाई लक्षित गरेर सरकारले खोप अभियान सञ्चालन गरे पनि व्यवस्थापन राम्रो नहुँदा खोप लागि निक्कै संघर्ष गर्नुपरेको खोप केन्द्रमा पालो करिरहेका मैनालीले बिएल नेपाली सेवासँग दुःखेसो पोखे। 

‘खोपका लाउन बिहानैदेखि लाइनमा बसेका छौं। अहिलेसम्म पालो आएन्। धेरै मान्छे छन्। पेलापेल मात्रै हुन्छ,’ मैनाली  भने।

त्यस्तै, सोही खोप केन्द्रमा पुगेका मैतिदेवीका रुपक भुजेलले खोप पाउनका लागि धेरै सास्ती भोग्नु पर्याे। बिहान ६ बजेबाट लाइनमा बसेका उनको दिउँसो १ बजेसम्म पनि पालो आएको थिएन्। भोको पेट ७/८ घण्टा लाइन बसेका उनले खोप पाउने टुंगो थिएन। तर लाइनमा बसिरहे।

टिचिङ अस्पतालको खोप केन्द्रमा शुक्रबार कोरोना भाइरसविरुद्धको खोपकाे लागि धेरै मानिसले संघर्ष गरिहेका थिए। सोही केन्द्रमा ७ सयलाई खोप दिने तयारी रहेपनि दोब्बर मानिसको उपस्थित रह्याे। ७ सय जनालाई खोप दिन योजनामा रहेको खोप केन्द्रले खोप पुनः ३ सय डोज खोप थप्दा पनि सबै जनालाई पुगेन धेरै मानिसले नलगाई फर्किए। अहिले काठमाडौंका सबै खोप केन्द्रहरुको अवस्था यस्तै छ। 

टिचिङ अस्पतालसँगै टेकुस्थित सहिद शुक्रराज ट्रापिक तथा सरुवा रोग अस्पताल, चावहिलको ओम अस्पताल, छाउनीस्थित सैनिक अस्पताल, बागबजारस्थित मोडल अस्पताल, कमलपोखरीको हिमाल अस्पताल लगायका खोप केन्द्रहरु अस्तव्यस्त छन्।

खोप केन्द्रहरु अस्तव्यस्त हुँदा संक्रमण फैलिने जोखिम बढेको टिचिङ अस्पताल खोप केन्द्रमा व्यवस्थापकको भूमिकामा रहेकी स्वास्थ्यकर्मी सिर्जना पाठक बताउँछिन्।

उनी भन्छिन्, ‘धेरै क्षेत्रका मानिसहरु यही खोप केन्द्रमा आउने हुँदा यहाँ मानिसकाे भिड लाग्ने गरेकाे छ, भिडमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्न गाह्रो हुने हुँदा उल्टो संक्रमणको जोखिम बढी हुन्छ।’

खोप केन्द्रमा आउने मानिसले नै जनस्वास्थ्यका मापदण्ड पालना नगरेको उनी बताइन्। काठमामाडौंमा खोप केन्द्रहरु कम हुँदा मानिसको भीडभाड हुने गरेकाे छ।

‘अहिले अस्पतालबाट मात्रै खोप दिन थालिएको छ। त्यसैलेभीड बढेको होला, व्यस्थापनको लागि सरकारले समयमै ध्यान दिन जरुरी छ,’ स्वास्थ्यकर्मी पाठकले भनिन्।

काठमाडौंमा १८ वटा खोप केन्द्र छन्। केन्द्र कम भएकै कारण व्यवस्थापनमा समस्या भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन्।

‘तत्काल हामीले अस्पतालहरुबाट मात्रै खोप लगाउने व्यवस्थापन गरेका छौं, त्यसले गर्दा पनि समस्या भएको हामीले अनुगमनका क्रममा महसुश गरेका छाैं,’ प्रजिअ पराजुलीले भने, ‘अन्य देशहरुबाट पनि खोप आउने क्रम जारी भएकोले खोप केन्द्रहरु थपेर व्यवस्थापन गर्ने तयारीमा छौं।’

सरकारले ५५ वर्ष भन्दा माथिका उमेर समूहलाई, सवारी चालकलाई, शिक्षकलाई खोप दिने भने पनि धेरै जसो खोप केन्द्रमा सबै उमेर समूहकाले खोप लगाईरहेका छन्। जसले गर्दा पनि खोप केन्द्र अस्तव्यस्त भएको पाइन्छ। 

प्रकाशित मिति: : 2021-07-16 20:29:00

प्रतिकृया दिनुहोस्