हामी पर्ख र हेरको अवस्थामा छौँ, निरंकुशता सहेर एमालेमा बस्दैनौँ: माधव नेपाल

फाइल तस्वीर
फाइल तस्वीर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ‌ओलीको निरंकुशता सहेर सधैँ बस्न नसकिने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा कीर्तिपुरको चम्पादेवीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरु अहिले 'पर्ख र हेरुको अवस्थामा रहेको बताए।

कम्युनिष्ट पार्टी सधैँ इमान्दारहरुबाट बन्नुपर्ने, सत्ता र शक्तिको लोभ गर्न नहुनेमा जोड दिए। उनले छिमेकी चीनमा कम्युनिष्ट पार्टीले स्थापनाको शतवार्षिकी मनाइरहँदा नेपालमा भने त्यसको ठीक विपरीत अवस्था रहेको उल्लेख गरे।

'राजनीतिक दलहरु ठीक ढंगले चल्न जरुरी छ', उनले भने, 'कम्युनिष्ट बिग्रेमा अरुभन्दा धेरै गन्हाउने भएकाले त्याग, तपस्या, स्वार्थरहित हिसाबले पार्टीमा लाग्नुपर्छ।’

एमालेमा जारी विवादमा आफू अहिले पर्ख र हेरको अवस्थामा रहेको बताएका छन्। ‘आफैँले बनाएको घरमा अरुको अपमान र कुकर्म सहेर बसिँदैन', उनले भने, 'शक्तिमा जो पुगेपनि सच्चा कम्युनिष्टलाई फरक पर्दैन। किनकी कम्युनिष्ट कसैको दास हुन सक्दैन।’

उनले आफूविरुद्ध भइरहेका जुलुसले केही फरक नपर्ने बताए। 'अहिले देखिएका बाँदर र स्याल हुइँया जुलुसले केही फरक पर्दैन', उनले भने, 'कम्युनिष्ट पार्टीभित्र संस्कार बसाल्ने र अरुको मानसम्मान गर्नेले मात्रै प्रतिफल पाउँछन्।'

उनले कम्युनिष्टको नाम र झण्डा दुरुपयोग गर्नु नहुनेमा पनि जोड दिएका छन्। अनेक चुनौती चिरेर नै कम्युनिस्ट राजनीति परिपक्व हुने उनको तर्क थियो।

प्रकाशित मिति: : 2021-07-22 13:30:00

प्रतिकृया दिनुहोस्