गण्डकीमा जसपालाई धोका, कांग्रेसले टुंग्यायो तीन मन्त्रीकाे नाम

गण्डकीमा कांग्रेसतर्फका मन्त्री बन्नेको नाम फाइनल भएको छ। काँग्रेसबाट सरकारमा थप ३ मन्त्री जाने छन्।

कांग्रेसबाट स्याङ्जाका मेखलाल श्रेष्ठ, बागलुङका मणिभद्र शर्मा र तनहुँका दोबाटे विश्वकर्मा मन्त्री बन्ने भएका हुन्।

यद्यपि, कुन मन्त्रालयको जिम्मा पाउनेबारे भने अझैं टुंगो नलागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए।

माओवादी केन्द्रले हिजै सरकारमा जाने मन्त्रीको नाम फाइनल गरिसकेको थियो। कांग्रेसबाट सरकारमा जान लागेका ३ वटै सांसद समानुपातिक तर्फबाट चुनाव जितेका हुन्।

माओवादी केन्द्रका ३ र कांग्रेसका ३ जना मन्त्रीको आजै एक बजे शपथ खाने कार्यक्रम छ। माओवादी र कांग्रेसले ४/४ मन्त्रालय लिएर जसपालाई २ मन्त्रालय दिने भनिए पनि कांग्रेसले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको छ।

यसअघि जसपाका हरिशरण आचार्य र धनमाया लामा पोखरेल मन्त्री बन्ने भनिएको थियो। हरिशरण मन्त्री बने पनि धनमायालाई भने धोका भएको छ।

प्रकाशित मिति: : 2021-07-23 12:36:00

प्रतिकृया दिनुहोस्