जुन सरल हुन्छ त्यो नै बढी चल्छ !

मलाई टेलिभिजन चलाउने रिमोटका सबै बटन चाहिँदैन।  धेरै बटन भएकोले भोल्यूम कम गर्ने बेलामा च्यानल चेन्ज थिच्न पुगेर झुक्किरहन्छु। सिम्पल रिमोट किन्न पाए हुने भन्ने लागिरहन्छ। टीभीमा पनि धेरै च्यानल छन्। हेर्ने त दुई तीनवटा मात्र हो। थाह छ अरू च्यानल हेरिन्न भनेर। तैपनि चेन्ज गरेको गर्यै, बेकारको थुप्रो।

हाम्रा घरका सबै भाँडा प्रयोग भएका हुँदैनन्।  त्यसमाथि मध्यमवर्गका व्यक्तिले त राम्रा–राम्रा भाँडालाई किनेको बेलाकै बट्टासहितै सीसाको दराजभित्र सबैले देख्ने गरी जतनसाथ राख्ने अनि पाहुना आएको बेला मात्र बट्टाबाट झिकेर प्रयोग गर्ने हो। प्रयोगै नहुने यति धेरै भाँडा किन चाहियो ? खै बुझ्न गाह्रो छ। आवश्यक भाँडा मात्र राख्दा भान्सा कति सरल हुन्थ्यो होला।

त्यस्तै, हातमा यति धेरै औँला चाहिन्न रे! सरल हुनुपर्छ भनेर 'इभोलुशन' आफैँले सबैभन्दा कम प्रयोग हुने कान्छीऔँलालाई बिस्तारै मान्छेको हातबाट नै हटाउँदै छ। हाम्रो कान्छी औँला खिइरहेकोछ रे ! हुन पनि 'लघुशंका गर्नुपर्यो' भन्ने इशारा गर्नबाहेक अरू केहीमा प्रयोग भएको देखेको छैन मैले यो औँला।

खानाको जुन बट्टामा 'नो कोलेस्ट्रल', 'नो सुगर', 'लेस कार्बोहाइड्रेट' भनेर लेखेको हुन्छ नि, त्यही बढी बिक्छ। नभए बोसो सङ्ग्रह भएर भुँडी बढ्छ रे ! कम भुँडीको जीवन कति सरल हुन्छ। 

गौतम बुद्धले पनि भन्थे– सङ्ग्रह नगर। धन मात्र होइन बुद्धले ज्ञान पनि कम सङ्ग्रह गर भन्थे। त्यसैले बुद्धका उपदेश बहुतै कम र सरल छन्, बुँदा बुँदामा, त्यति मात्र बुझे पुग्यो अरू ज्ञान आवश्यक छैन। बुद्ध स्वयंको मूर्ति पनि सरल हुन्छ, लुगा गहना केही पनि नलगाएको।

शिवको मूर्ति बनाउने हो भने सर्प, डमरु, त्रिशूल चाहिन्छ। अनुहारमा विभिन्न भाव भङ्गिमा, रिस, लोभ, क्रोध चाहिन्छ तर बुद्धको अनुहार सँधै शान्त भावले आँखा चिम्लेर बसेको। कलाकारलाई सबैभन्दा गाह्रो आँखा बनाउन हो। त्यो नै चिम्ले पछि सरल भै हाल्यो। जुन सरल हुन्छ त्यो नै बढि चल्छ, त्यसैले संसारमा सबै भन्दा धेरै बुद्धको मूर्ति बनेका छन्।

हामी नेपालीले बनाएको कुरा अलि जटिल हुन्छ।  हामीलाई लोगोमा सगरमाथा, बुद्ध, गैँडा सबै नै कोचेर राख्नुपर्छ तर धेरै चलेका लोगोहरू हेर्नुस् त कति सरल हुन्छन्। नेपालको झन्डा नै कति जटिल छ। अरू देशका झन्डा  कति सरल छन्। हामीले पनि भनि राखेका छौ– संघीयता जटिल भयो।थोरै प्रदेश राखौं। थोरै मन्त्री राखौं। देश सरल बनाऔं। अनि पो देश चल्छ।

अब मूल कुरामा,

आज पढेँ– 'एक दिनमा १०००० पाइला हिँड्नु स्वास्थ्यको लागि राम्रो हो' भन्ने कुरा मिथ हो। ४४०० पाइला नै काफी हुन्छ रे–  वैज्ञानिक निष्कर्ष ! यत्रो गन्थनको मूल कुरा– १०००० भन्दा ४४०० स्टेप्स हिंड्नु सरल हुन्छ। त्यसैले आजैदेखि मैले पनि सरल नै ग्रहण गर्ने विचार गरेँ। अब आजदेखि 'इभिनिङ्ग– वाक' मा ५६०० स्टेप्स सेभ गर्ने र यसबाट बचेको 'इनर्जी' देशको विकास कसरी गर्ने भन्ने ‘चिन्तन’ गर्नमा खर्च गर्ने भएँ। चिन्तनमा किनभने ‘काम’ नै गर्नभन्दा ‘चिन्तन’ गर्न सरल छ।

यसैले सबैमा अनुरोध– कम हिँडौं। सक्छु भन्दैमा आज यति कदम हिँडेँ भनेर फेसबुकमा टाँस्नकै लागि नचाहिँदो उत्पात नगरौँ। बचेको इनर्जी ‘चिन्तन’मा खर्च गरौँ !

प्रकाशित मिति: : 2021-07-25 20:40:00

प्रतिकृया दिनुहोस्