नेपालको सानदार सुरुवात, अमेरिका पाँच विकेटले पराजित 

File photo
File photo

युवा ब्याटसम्यान कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धसतकसँगै आइसीसी विश्वकप क्रिकेट लिग-२ शृंखला अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार नेपालले बलियो अमेरिकालाई युवा ब्याटसम्यान कुशल र रोहितको अर्धसतकसँगै ५ विकेटले पराजित गरेको हो।

टस हारेर २३१ रनको लक्ष्य पाएको नेपालले जवाफी ब्याटिङमा ६ बल बाँकी छँदै ५ विकेट गुमाएर २३१ रन बनाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोडे। आफ्नो करियरकै उत्कृष्ट ब्याटिङ गरेका कुशलले ३ छक्का र ३ चौका प्रहार गरे।

रोहितले अर्धशतकसहित ६२ रन बनाए। ८७ बल खेलेका रोहितले ३ छक्का र २ चौका प्रहार गरे।  नेपालका लागि विकेट किपर तथा ब्याटसम्यान विनोद भण्डारीले ३७, आसिफ शेषले २३ र ज्ञानेन्द्र मल्लले १७ रन बनाए। नेपालका कुशल मल्ल र कुरण केसी १ रनमा आउट भएका थिए।

अमेरिकाका निसर्ग पटेल र नोस्थुश केन्जिगेले समान २/२ विकेट लिए। सौरभ नेत्रभाल्करले १ विकेट लिए।

यसअघि ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा सोमबार टस जितेर ब्याटिङ रोजेको अमेरिकाले मोनाङ्क पटेलको शतकमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनाएको थियाे।

अमेरिकाका ब्याटसम्यान तथा विकेट किपर मोनाङ्क पटेलले सर्वाधिक १०० रन बनाए। मोनाङ्कले ११४ बल खेल्दै १ छक्का र ९ चौका प्रहार गरेका थिए। मोनाङ्कलाई नेपालका विक्रम शोवले १०० रनमा कुशलको हातबाट क्याच आउट गराएका थिए।

निसर्ग पटेलले २१, सुशान्त मोदानीले १६, स्टेभन टेलोर १४, नोस्थुस केन्जीगेले १३ तथा जस्कारना माल्होत्राले ११ रन बनाए।

टस हारेर बलिङ गरेको नेपालका लागि सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोवले सर्वाधिक २–२ विकेट लिए। १० ओभर बलिङ गरेका भारीले ३१ रन खर्चिएर २ विकेट लिए। यस्तै १० ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै ३५ रन खर्चिए।

अर्का तीब्रगतिका बलर विक्रमले ६ ओभर बलिङ गर्दै ३३ रन खर्चिएर २ विकेट लिए। 

१६ रन बनाएका अमेरिकाका नोस्थुस केन्जिगेलाई कुशल मल्ल र सन्दीप लामिछानेले रन आउट गराएका थिए। सन्दीपले करिमा गोरेलाई रन १६ रनमा रन आउट गराएका थिए। 

नेपालका करण केसी महँगो सावित भए। ५ ओभर बलिङ गरेका करणले बिना विकेट ४१ रन खर्चिएका थिए। सोमपाल कामीसमेत विकेटविहीन रहे। ८ ओभर बलिङ गरेका सोमपालले ३५ रन खर्चिएका थिए। 

यसअघि नेपाली टोलीले लिग-२ को खेल तयारीका लागि पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण शृंखला खेलेको थियो। नेपालले दुबै शृंखला आफ्नो पक्षमा पारेको थियो।

लिग-२ को शृंखलामा व्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सहभागी हुने छैनन्। खुट्टाको चोटका कारण उनले शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जितसँगै नेपालले ५ खेलबाट ३ जित र २ हार समित ६ अंक बनाएको छ।

प्रकाशित मिति: : 2021-09-14 06:27:00

प्रतिकृया दिनुहोस्