चितवनको मुनाल एण्ड मयूर रिसोर्टले ल्यायो हेलिकप्टरमा मनास्लु घुमाउने प्याकेज

फाेटाेः अमृत भादगाउँले
फाेटाेः अमृत भादगाउँले

चितवनकाे पदमपुरमा सञ्चालित ‘मुनाल एण्ड मयूर रिसोर्ट'ले आफ्ना पर्यटकलाई  हेलिकप्टरमा मनास्लु हिमाल क्षेत्र घुमाउने भएकाे छ।

मनास्लु क्षेत्रको प्रवद्र्धनमा क्रियाशील रहेका पर्यटन अभियन्ता लाक्पा ढुण्डुप लामाको समूहले पदमपुरमा सञ्चालन गर्दै आएको रिसोर्टले आन्तरिक पर्यटकलाई लक्षित गरेर ४ रात ५ दिनको यस्ताे प्याकेज बनाएको हो। यसमा नेपालकाे जुनसुकै ठाउँका पर्यटक सहभागि हुन सक्नेछन्।

दशैं अगाडि नै पर्यटकलाई मनास्लु घुमाउन सुरु गरिने पर्यटन अभियन्ता लाक्पाढुण्डुप लामा बताउँछन्। प्याकेज मूल्य प्रतिव्यक्ति १ लाख ३८ हजार रुपैयाँ राखिएको छ। यसमा दुईतर्फी हेलि टुर, गाइड सुविधा, ब्रेकफास्ट, लन्च, डिनर र बेड सुविधा हुनेछ।

‘हिमाली जनजीवन, भोटे संस्कृति र अर्गानिक वातावरणमा रमाउन चाहनेहरूका लागि हामीले यो प्याकेज बनाएका हौं’, पर्यटन अभियन्ता लामाले भने, ‘फेमिली, प्रेमिल जोडी र साथीसँग मिलेर मनास्लु घुम्न सक्नेछन्।’

प्याकेजमा पर्यटकलाई चितवनको मुनाल एण्ड मयूर रिसोर्टबाट मनास्लु क्षेत्रको नामरुङसम्म हेलिकप्टरमा ओहोरदोहोर गराइनेछ। उनीहरूलाई पहिलो दिन नामरूङ गाउँ, नामरूङ झरना, गुम्बा, बुढीगण्डकी नदी र अर्गानिक स्याउ बगान घुमाइनेछ।

दोस्रो दिन हिमालचुली बेस क्याम्पसम्म घुमाएर पुनः नामरुङमै बास बसाइनेछ। बेस क्याम्प पदयात्रामा हिमालचुली, सृङ्गी र मनास्लु हिमालको दर्शनका साथै जंगली जनावर र चरा अवलोकन गराइनेछ।

तेस्रो दिनमा मनास्लु पदमार्गको ल्हो गाउँसम्म पदयात्रा गराइनेछ। ल्हो गाउँबाट मनास्लु हिमाल आँखै सामुन्ने देखिन्छ। त्यो रात ल्हो गाउँमै बसाएर चौंथो दिन नामरुङ फर्काइनेछ।

यात्राको पाँचौ दिन नामरुङबाट उडाएर चितवन, पदमपुरस्थित रिसोर्टमा पर्यटकको विदाई गरिने आयोजकले जनाएको छ। विदाई अगाडि हरेक यात्रुलाई मनास्लुको अर्गानिक उत्पादन उपहार दिइनेछ।

नामरुङमा यही समूहले नमुना रिसोर्ट ‘नुब्री फोर सिजन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ। जुन मनास्लु पदमार्गकै सबैभन्दा महंगो र सुन्दर रिसोर्ट मानिन्छ। हेलिप्याकेजमा मनास्लु घुम्ने पर्यटकलाई तीन रात यही रिसोर्टमा राखिनेछ।

५ सिट क्षमताका हेलिकप्टर प्रयोग गरिने भएकाले समूहमा बुकिङ गर्दा सजिलो हुनेछ। सबै पर्यटकको वीमा गराएर यात्रामा लगिने रिसोर्टका सञ्चालक लामाले बताए।

यस प्याकेजले हिमाल र तराईलाई जोड्नुका साथै सुस्ताएको पर्यटनलाई चलायमान बनाउन मद्दत गर्नेछ। पर्यटकको मागअनुसार तिहारसम्मै हेलिप्याकेज सञ्चालन गरिने रिसोर्टले जनाएको छ।

 

प्रकाशित मिति: : 2021-09-29 12:30:00

प्रतिकृया दिनुहोस्