बटु लामिछानेको भोगाइ– ‘दुःख–सुखको संगम हो जिन्दगी’

हेमन्त विवश

काठमाडाैँ
Breaknlinks
Breaknlinks

य पत्झडका मौसम घडी दो घडी है 
कभी सुख कभी दुःख यही जिन्दगी है

शिरानीका पंक्तिले भनेझैँ जिन्दगी सुख र दुःखकै संगम त रहेछ  तथापि मान्छेलाई सुख कति चाहिन्छ, हिसाब छैन। पूर्ण परिभाषा पनि त छैन– सुख दुःख, माया जिन्दगी आदिको। दुःखका पनि त कुनै श्रेणीहरू कहाँ छन् र!

सबैलाई आफ्नै दुःख ठुला भइदिन्छन्। कम हाँसो बढी आँशु। पलपलको हैरानी, दौडधूप ! यी सारा पलहरू सहेर धैर्यधारण गरेर अघि बढ्नु नै त हो जीवनको कर्म। 

यही क्रममा एउटाको दुखाई अरु कसैका लागि प्रेरणा बनिदिन्छन् र धैर्यधारण गर्न सिकाउँछन्। काठमाडौंका बटु लामिछानेले पनि खुब खाए हन्डर! तर, छाडेनन् धैर्यको माला जप्न।

जीवनको कुनै समयमा खुब आँशु बगाए– बटु लामिछानेले पनि। अपराधीझैँ लुकेर हिँडे। चाडपर्व के हुन्, थाहा नपाएजस्तो गरेर हिँडे। व्यक्त गर्न गाह्रो छ विगतका घटना परिघटनाहरूलाई।

त्यही भएर उनले टिल्पिलाउँदा नयन देखाएर भनिदिए, ‘तपाईले खोतल्नथाल्नु भयो। म सक्दिनँ यति बेला भोगेको भोगाइ व्यक्त गर्न।’

स्मृतिपटलको त्यही आगनमै पुर्न चाहन्छन् उनी विगतका ती तीता पललाई। जति लुकाउन खोज्दा पनि, जति बिर्सिन खोज्दा पनि कतै न कतैबाट देखिन्छ विगतको एक कुना।

सानो अंश नै किन नहोस् टलक्क टल्किदिन्छ बेलाबखत त्यही स्मृति पटलमा। अनि सोच्छन्, ‘पैसा नै सबै कुरा पनि त कहाँ रहेछ र। त्यो बेला दिनरात धैर्यधारण गर्दै ख्याल गर्ने श्रीमती कविता नहुँदिहुन त जिन्दगी कुन मोडमा पुगेर टुङ्गिन्थ्यो होला !’

बटुलाई निकै साथ दिइन् कविताले। बाह्य अनुहारमा देखाइनन् कहिल्यै पनि दुःख, निराशा र असन्तुष्टिका धर्साहरू। मात्र बालिरहिन् प्रेमको दियो। जुन दियोले बिस्तारै दिन थाल्यो जिन्दगीको उज्यालो। 

काठमाडौं लाजिम्पाटमा मध्यमवर्गीय परिवारमा जन्मेका बटु लामिछाने विशालबजारस्थित वाणिज्य बैंकमा सहायक स्तरको अस्थायी कर्मचारी बनेर जागिरको गोरेटोमा लम्किरहेका थिए। व्यापारीहरूसँग भेटघाट भइरहन्थ्यो।

त्यतिबेलै जुधेका थिए, उनका आँखा कवितासँग। पछि त्यही प्रेम २०४१ सालमा मागी विवाहका रुपमा परिणत हुन गयो। १९ वर्षे उमेर, धेरै पैसा कमाउने सोचमा जागिर सँगसँगै व्यापारमा पनि सहभागी बने।

श्रीमतीका गहना बेचेर गलैंचा बनाउने धागोको काम सुरु गरे।  तर,व्यापारमा घात हुनगयो। राम्रो सामान सस्तो मूल्यमा गयो।

बटुका मान्छेले बिग्रेको भनी थन्क्याएको सामान जब चावहिल निवासी एकेन्द्रराज चालिसेले राम्रो छ भनेर सबै उठाए बल्ल उनलाई थाहा हुन गयो असली कुरा। सबै डुबेपछि उनले तीन वर्ष जागिर मात्रै गरिरहे।

तत्पश्चात् २०४३ सालमा लोकसेवाको परीक्षा दिएर मुखिया, खरदार, सुब्बा, लेखा अधिकृत सबैमा नाम निकाल्न सफल भए। दिन प्रतिदिन महत्वाकांक्षाले मनमा डेरा जमाउँदै गएपछि तीन वर्षपछि जागिर छोडिदिए।

ती दिन सम्झिदै सुनाउँछन् उनी, ‘बुद्घिसागर ढकाल शाखा प्रबन्धक हुनुहुन्थ्यो। उहाँले बोलाएर स्थायी गर्ने जिम्मा मेरो भयो, खाइपाई आएको जागिर नछोड्नोस् भन्नु भएको थियो। मनले मानेन। जागिर छोडे।

जागिर छोडेको थाहा पाएपछि हजुरबाले भन्नुभयो– सरकारी जागिर बढी भयो तँलाई। त्यसपछि एक हप्तासम्म हजुरबुवा मसँग बोल्नु नै भएन्। तत्पश्चात पुनः होमिए व्यापारमै।’

जीवनचन्द्र श्रेष्ठ, देवेन्द्रलाल कक्षपति र उनी मिलेर पाटनरसिपमा उही कार्पेटको काम सुरु गरे। भारतबाट साढे आठ लाखमा मेसिन झिकाए। २० लाख लगानीमा सुरु भयो व्यापार।

काम गर्दै जाँदा उनी धनकुटा काँकडभिट्टा लगायतका स्थानमा पुगे। जहाँ उनले सात लाख रुपैयाँ गुमाए। पुनः काम गर्न मन नलागेपछि छोडिदिए त्यो पनि।

कुराकानीको क्रममा विगतको भोगाइ सुनाए उनले– ‘एक दिन स्कुल पढ्दाको साथी सरोजले केही काम गरौँ भनेपछि युनिभर्सल कोही नामक कम्पनी दर्ता ग¥यौँ। 

साथी त ऋणमा डरलाग्दो गरी डुबेको रहेछ। अब के गर्नु। नेपाल बंगलादेश बैंकमा ऋणमा ‘पर्सनल ग्यारेन्टी’ का साथै आफूसँग भएको केही नगदसमेत दिएँ। 

त्यति बेलै साढे सात करोडमा त्रिभुवन विश्व विद्यालयमा पुस्तकालय, एडियम भवन र परीक्ष नियन्त्रण कार्यालयको भवन लगायत तीन वटा बिल्डिङ बनाउन ठेक्का पायौँ। ‘एडभान्स’ लिएको डेढ करोड साथीको लोन तिर्न प्रयोग भयो। मैले केही बोल्न सकिनँ।’

लगत्तै काठमाडौंप्लाजाको काम पाएछन्। साततले भवन निर्माण गर्ने योजना सहितका सबै कागजात तयार भएछन्। ब्याङ्कको किङ पावर कम्पनीसँग ‘ज्वाइन्ट भेञ्चर’ मा काम गर्न एमओयू समेत हुन गएछ।

नेपालका लागि थाइल्याण्डका राजदूतले शुभकामनासमेत दिएछन्। नेपाल सरकासँग स्वीकृति लिनुपर्ने भएपछि खुब धाएछन् मन्त्रालय।

लामो सास तान्दै उनले त्यो घटना सुनाए, ‘उद्योग तथा वाणिज्य मन्त्री थिए चिरञ्जिवी वाग्ले। २२–२४ वर्षे उमेरका थियौँ। भर्खर बहुदल आएको थियो। पैसा खुवाउनुपर्छ भन्ने थाहा पाएनौँ। हुन्छ हुन्छ, गरिदिन्छु भन्दै झुलायो। आखिर छ महिनासम्म स्वीकृति नदिएपछि किङ पावरसँगको करार टुट्यो। दूर्दिन सुरु भए। उता ऋणले च्याप्दै गयो। अनि घर गाडी सबै लिलाम हुन गयो। फूटपाथमा पुगियो।’

बाउबाजेको सम्पत्ति केही नलिएर आफ्नै कमाइले सानो घर बनाएर अलग्गै बसेका लामिछानेको छुट्टै संसार थियो। जुन एकाएक भत्कियो। एक छोरा, दुई छोरी र श्रीमतीलाई कोठा भाडामा लिएर राखे छन्।

त्यतिबेलै कहाँबाट भेटिए छन् तीनजना भारतीय नागरिक। तिनले भन्दा रहेछन्, ‘हामीसँग स्रोत खुलाउन नमिल्ने पैसा छ, लगानी गर्छौं। अब फुर्ति गरेर बस।’

तिनको आश्वासनमा परेपछि पुनः कता–कताबाट चर्को व्याजमा ऋण निकालेर तिनलाई सोल्टी, अन्नपूर्णजस्ता होटलमा राखेर केही दिन पालेछन्। जो आतिथ्यमात्रै लिने गफ दिएर टाप ठोक्नेवाला थिए। अन्तत्वगत्वा तिनले पनि चार पाँच लाखमा डुबाएर गएछन्।

त्यतिबेला ऋणीले दिएको दुःख सम्झिदा आँखाभरि आँशु बनाउँदै सुनाए, ‘घर लिलाम हुनेताका बैंकबाट फोन आइरहन्थ्यो। आँखा रसाई रहन्थे। छट्पटाहट बढ्थ्यो। श्रीमतीले सम्झाई रहन्थिन्। अगाडि यात्रा अन्धकारमय थियो। जताजादा नि ऋण ! २०५४ देखि २०६० सम्म त निकै समस्या झेलेँ। बैकको कालोसूचीमा नाम थियो। हिरोहोण्डाको मोटरसाइकल थियो। त्यो पनि बेचेँ। केही दिन किन्नेसँगै मागेर सुटुक्क यताउता दौडिँदै पुन ऋण लिन थालेँ। ऋण लिएरै छोराछोरी पढाएँ। साहुको डरले लुकिलुकी हिँड्न थालेँ।’

शान्ति विद्यागृहबाट एसएलसी उत्तीर्ण गरेका लामिछानेले बिकम सिध्याएर मास्टर्स डिग्री भर्ना गरेका थिए। सारा व्यवहार बिग्रेपछि लुकेर हिँड्नुपर्दा छुट्यो पढाइ पनि। जसलाई उनले नियतिकै खेल ठाने। त्यसैले त उनी भनिदिन्छन्, ‘आखिर जिन्दगीमा पढ्नुपर्ने त अरु नै रहेछ।’

व्यापारमा असफलभएर बरालिरहेका बुवाको तनाव र घरायसी यातनाले गर्दा एक दिन छोरीले कसम खाँदै भनिछन्– म जिन्दगीमा व्यापार गर्दिनँ। उनले बताए, ‘थुप्रै छन् त्यति बेलाका कथाव्यथाहरू। ती सबैलाई सम्झेर पुनः मन नदुखाउँहोला।’

ज्योतिष विज्ञानमा विश्वास गर्ने लामिछाने बेलाबखत ज्योतिष डा. खिलनाथ वस्ताकोटीको सल्लाह लिएको कुरा बताउँछन्, ‘तिनै ज्योतिषले ०६२ सम्म राम्रो छैन भनेका थिए। हुन पनि त्यति बेला नराम्रो दुःख पाएँ। ब्याजमा पैसा लिएर गरिने व्यापार सफल हुँदैन। व्यापारमा पीडा छ। पूजामा माला जपेझैं माला जप्नुपर्छ। मैले दुःखको बेला काम गरेँ, काम सिकेँ। केही कमाएँ, केही गुमाएँ। जति गुमाएँ, आफैँले कमाएको गुमाएँ। स्थिति बिगे्रको बेला कमी थिएन कुरा काट्नेको। लुकेर हिँड्नुपर्ने हुन्थ्यो। तिनैलाई आज सहयोग गर्नुपरिरहेको छ। यी सारा कुराले ठूलो सिकाइ भयो जीवनमा।’

त्यसपछि उनी लागे– जलविद्युततिर। जनसम्पर्क राम्रो हुन थालेछ। चाइनिजले सहयोग गर्छु भनेपछि ‘एलाइन्स पावर नेपाल’ले सञ्चालन गरेको १५ सय किलोवाटको चाकुखोला जलविद्युत परियोजनाको २० करोडको काम ‘टनकि बेसिस’मा दिलाउन सफल भएछन्।

‘पहिलो कमिसन पाएपछि बढी आकर्षित भएँ, हाइड्रोतिर। त्यही दौरानमा गणेश कार्कीसँग परिचय हुन गयो जो अहिले पार्टनर छन्’, उनले बताए। 
अचेलव्यापारको सिलसिलामा कसले के भन्न खोज्दै छ भन्ने कुरा सुरुमै थाहा पाइहाल्छन् उनी। 

केही महिना अघि मात्र कोभिडबाट संक्रमित भएर आईसियुमा भर्ना भएपछि निकै आत्तिएछन् उनी। सोचे छन् गर्नुपर्ने काम त बाँकी नै छ। उनको त्यो गर्न बाँकी काम भनेको सामाजिक कार्यमा लगानी लगाउने सोच हो।

मानव भएपछि मानवता निभाउनुपर्छ भन्ने मान्यता बोकेका लामिछाने श्रीमती र आफ्नो नाममा ‘फाउण्डेसन’ खोल्ने तयारी गर्दै छन्। त्यही ‘फाउण्डेसन’मार्फत् कमाइको ४० प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने योजना छ उनको।

राजेन्द्र गिरीको संगतमा लायन्स क्लबमा आवद्घ भएका लामिछाने उसो त अहिले पनि सामाजिक कार्यमा लगानी गरिरहेका छन्। कुनै बेला फुटपाथमा पुगेका लामिछानेलेको यतिखेर राम्रो कमाइ छ।

चाकुखोलाथोप्पल, सवाखोला, सिङ्टी, मिदिङजस्ता जलविद्युत परियोजनाहरू निर्माणमा सफलता हासिल गरिसकेका उनका तीन वटा परियोजना पूर्ण हुने क्रममा छन् भने ३ वटा जति निर्माणको सिलसिलामै छन्।

कुराकानीकै क्रममा ५८ वर्षीया लामिछानेले निकै भावुक भएर बताए, ‘समय कति चाँडै बद्लियो। बालुवाटारस्थित एभरेष्ट बैंक बसेको ठाउँ दलदल थियो। झुप्प–झुप्प थियो बस्ती। बालुवाटारमा १०–१५ घर हुँदा हुन्। त्यो बाटो हिँड्दा तर्साउँछ भन्थे। बालुवाटारदेखि लैनचौर हिँडेरै आउँथेँ। काठमाडौ चारैतिर धान खेती गरेको देखिन्थ्यो। तोरी त्यतिकै फल्थ्यो। अहिले त मान्छे मात्र पैसाको खेती गर्न थाले। म पनि खूब दौडिएँ पैसाका लागि। अब त यो के चाहियो भन्ने सोच आइसक्यो। आखिर चाहिने भनेको शान्ति रहेछ। त्यही नै ठूलो कुरा रहेछ।’

प्रकाशित मिति: : 2021-12-12 08:12:00

प्रतिकृया दिनुहोस्

    लौ आफ्नै साथीको आएछ

    • 2 बर्ष अगाडि
    • Navin Rayamajhi