डोन्ट लुक अप: जहाँ मानव सभ्यताको नास हुने कुरा पत्ता लाग्छ [भिडियोसहित]

Breaknlinks
Breaknlinks

विज्ञान कथा (साइन्स फिक्सन) मा हास्यरस मिसाएर सिनेमा निर्माण गर्ने निर्देशक एडम मेककेले यस्तै कथामा निर्माण भएको सिनेमा 'डोन्ट लुक अप' लिएर आएका छन्। गत हप्ता विश्वव्यापी रुपमा रिलिज गरिएको यो सिनेमा हाल सफलता पूर्वक प्रदर्शन भइरहेको छ।

करिब ७५ मिलियन अमेरिकी डलर बजेटमा निर्माण भएको यो सिनेमामा पनि निर्देशक मेककेले आफ्ना पहिलेका सिनेमाहरु जस्तै लियोनार्डो डे किप्रियो, मेरिल स्ट्रिप, जेनिफर लरेन्स, केट ब्लेचेण्ट जस्ता महँगा र लोकप्रिय कलाकारहरुलाई अभिनय गराएका छन्। सन् २०१८ मा प्रदर्शित मेकके निर्देशित सिनेमा 'भाइस' मा जस्तै यो सिनेमाको फ्रेम पनि निकै ठुलो छ।

सिनेमाको सुरुवातमा बिनाकुनै दृश्य एउटा ठुलो स्वर सुन्न सकिन्छ, यो स्वर कफी बनाउने मेशिनको हो। जसलाई एउटा विश्वविद्यालयको पीएचडिको विद्यार्थी केट डीबियास्की (जेनिफर लरेन्स) प्रयोग गर्दैछिन्। यसैबाट सिनेमाको कथा सुरु हुन्छ र सिनेमामा आधुनिक प्रविधि नभए पनि मान्छे जीवित रहन सक्छ भनेर देखाइएको छ। जसलाई अगाडि बढाउन अन्य उपकथाहरुलाई हास्यरसमा ढालिएको छ।

सिनेमाको कथाअनुसार केट डीबियास्कीले एउटा यस्तो रहस्य पत्ता लगाउन सफल हुन्छिन् कि छिटै नै एउटा अज्ञात उपग्रह पृथ्वीमा ठक्कर खाँदै छ, जसको परिणामस्वरूप पृथ्वी पूर्णरुपमा ध्वस्त हुनेछ। यो सूचना उनले आफ्नो प्रोफेसर रयाण्डल मिण्डि (लियोनार्डो डीकेप्रियो) लाइ दिन्छिन्।

प्रोफेसरले यसबारेमा अनुसन्धान गर्दा थाहा हुन्छ कि यो उपग्रह आउँदो ६ महिना १४ दिनभित्र पृथ्वीमा ठक्कर खान्छ र सम्पूर्ण मानव सभ्यताको नास हुन्छ। यो जानकारी प्रोफेसरले सरकारलाई दिन्छन्। के अमेरिकी सरकार यसलाई रोक्न सफल हुन्छ? यो नै सिनेमाको मुल कथा हो, जसलाई हास्यरसमा अगाडि बढाइएको छ।

यसको साथै सिनेमामा पूँजीवादको खराब पक्ष र नेतालाई जनताकोभन्दा आफ्नो राजनैतिक भविष्यको बढी चिन्ता हुने कुरा देखाइएको छ। राष्ट्रपति (मेरिल स्ट्रिप) सबै कुरा एकतर्फ पन्छाएर टेलिभिजनमा अन्तरर्वार्ता दिन व्यस्त रहनु यसको उदाहरण हो। सिनेमामा कथालाई अगाडि बढाउन अन्य चरित्रहरुको सहायता लिइएको छ, जसलाई आजका सुपरस्टारहरुले आफ्नो उत्कृष्ट अभिनयले सजाएका छन्।

सबै कलाकारहरु चल्तीका भएर हुनसक्छ कसैको पनि अभिनयमा खोट लगाउने ठाउँ छैन। निर्देशक मेकके काम पनि तारिफयोग्य छ। उनले हरेक फ्रेममा मेहनत गरेका छन्, सिनेमामा कतै पनि जर्क देखिन्न। पटकथा स्वयम् निर्देशकले र कथा डेभिड सिरोटाको छ, जो उत्कृष्ट छ। निकोलस ब्रिटेलको संगीत, लिनस साण्ड्ग्रेनको छायांकन र ह्यांक क्रोइनको सम्पादन पनि अत्यन्तै उच्चस्तर को छ।

उसैपनि विज्ञान कथामा बनेको सिनेमा 'मास' लाई भन्दा पनि 'क्लास' को लागि निर्माण गरिएको हुन्छ। यस्तो बोझिल बिषय खासै धेरै मान्छेहरुको रुचिको बिषय होइन र पंक्तिकार पनि कुनै अपबाद होइन। विज्ञानमा रुचि नभएको दर्शकको लागि यो सिनेमाले मनोरन्जन दिन सक्दैन तर जसलाई रुचि छ, सिनेमा प्राविधिक रुपले उत्कृष्ट बनेको कारण टिकटको पैसा बर्बाद हुँदैन।

प्रकाशित मिति: : 2022-01-21 18:00:00

प्रतिकृया दिनुहोस्