कञ्चनपुरका चार राजनीतिक दलले स्थानीय चुनावमा सहकार्य गर्ने

बिएल संवाददाता

महेन्द्रनगर

गठबन्धनमा रहेका पाँच राजनीतिक दलमध्ये कञ्चनपुरमा क्रियाशील चार राजनैतिक दलले आगामी स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने भएका छन्।

सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय महेन्द्रनगरमा बसेको कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको बैठकले निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको हो।

आजको बैठकमा पाँच दलबीच गठबन्धन गरेर जाने केन्द्रको निर्णयलाई स्वागत गर्दै कञ्चनपुरमा पनि निर्वाचनमा सहकार्य गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिएका छन।

उनका अनुसार अब बुधबार बस्ने बैठकले जिल्लाभरीको बस्तुगत अवस्थाको विश्लेषण गरी तालमेलबारे ठोस निर्णय लिनेछ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति पदम बोगटी, राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज पाण्डेय, नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज लालबहादुर खड्कालगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति: : 2022-04-04 15:42:00

प्रतिकृया दिनुहोस्