‘कम्युनिष्ट किल्ला’ थबाङको चुनावी चर्चाः माओवादीबाट को–को छन् अध्यक्षका आकांक्षी ?

बिएल संवाददाता

थबाङ, रोल्पा

ऐतिहासिक ‘कम्युनिष्ट किल्ला’ थबाङको चुनावी चर्चा सामाजिक सञ्जालदेखि टाेल–टाेलमा सुरू भइसकेकाे छ। दश वर्षे जनयुद्धकाे प्रभावक्षेत्र मानिने थबाङ– क्रान्तिको लालकिल्ला पनि हो। 

थबाङको मूल नेतृत्व सम्हाल्न माओवादी केन्द्रबाट दर्जन नेता आकांक्षी देखिएका छन्।

गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरसहित मौसम रोकामगर (दिनेश), ऋषिकेशव बुढामगर (सविन), जीवन रोकामगर, बिनप्रसाद पुनमगर, रामधन पुनमगर, उदिम घर्तीमगर र बसन्त रोकामगर अध्यक्षको दौडमा छन्।

आकांक्षीमध्ये अध्यक्ष वीरबहादुर, मौसम, ऋषिकेशव र जीवनलाई बलियो दाबेदार मानिएको माओवादी नेताहरू बताउँछन्। अध्यक्ष वीरबहादुर फेरि दाेहाेरिने दाउमा छन्। तर माओवादी नेता वर्षमान पुन, दिपेन्द्रकुमार पुन भने नयाँ अनुहारकाे खाेजीमा लागेकाे बताइएकाे छ।

०७४ को पहिलो स्थानीय तहकाे निर्वाचनमा माओवादी केन्द्रले थबाङमा चारवटा वडासहित अध्यक्ष र उपाध्यक्ष जितेकाे थियाे। यसपालिकाे स्थानीय निर्वाचनमा थबाङको नेतृत्व सम्हाल्न युवाहरू पनि टिकटकाे दौडमा मैदान छिरेका छन्।

स्रोतका अनुसार माओवादी केन्द्रकाे दबदबा रहेको थबाङमा अध्यक्षका पदका लागि गाउँ पार्टीले आठ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समेत थबाङमा राम्रो प्रभाव छ। पार्टीका केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढामगर समेत थबाङ गाउँनिवासी हुन्। त्यसकारण पनि थबाङमा विप्लवकाे प्रभाव घटेको छैन। 

थबाङलाई नै आधार बनाएर सुरू भएको दश वर्षे जनयुद्ध मुलुकभर फैलियो। र, एक दशक चल्यो। अधिकांश थबाङ्गीहरू माओवादी जनयुद्धमा होमिए। युद्धताका थबाङले कैयौं क्षति भाेगेकाे छ। थ्रुपै योद्धाहरू शहीद भएका छन्। राज्य र विद्रोही पक्षबीचको लडाइँले युद्धभूमि बनेको थबाङ विस्तृत शान्ति सम्झौता शान्तिदूतका रूपमा चिनियाे।

थबाङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँपालिका मानिन्छ। जनयुद्धको सुनौलो इतिहास र धार्मिक आस्थाको अरोहर जलजला क्षेत्रले यहाँको पर्यटकीय सम्भावना झन् बढाएको छ।

थबाङ, मिरूल र उवालाई मिलाएर पाँचवटा वडा कार्यालय बनाइएको छ। जसमा वडा– १ र २ साविकको थबाङ गाविस, वडा–३ साविकको मिरूल गाविस र वडा ४ र ५ साविकको उवा गाविसभित्र पर्छन्।

थबाङमा माओवादी केन्द्रसँगै विप्लव, एमाले, कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, मंगोल अर्गनाइजेशनकाे पनि झिनो उपस्थिति छ। हालसम्म उनीहरूको तर्फबाट कुनैपनि नाम सार्वजनिक नभएपनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने चर्चा छ।

प्रकाशित मिति: : 2022-04-06 10:04:00

प्रतिकृया दिनुहोस्