माडी गाउँपालिकामा को–को छन् अध्यक्षका दाबेदार ?

बिएल संवाददाता

माडी, राेल्पा

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। दलका नेताहरू गाउँ–गाउँमा चुनावको तयारीमा जुटेका छन्। आ–आफ्नो पालिकामा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षको टिकट हात पार्ने होडबाजी पनि सुरू भइसकेको छ।

माडी (रोल्पा) गाउँपालिकाको अध्यक्षका आकांक्षीहरू हप्तादिन यता खुल्न थालेका छन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र ‘एमाले–कांग्रेस’ गठबन्धनबीच चुनावी प्रतिस्पर्धा भएको थियो।

गाउँपालिकामा दुई दलीय गठबन्धन हुँदा पनि माओवादीले नै जित हात पार्‍याे। त्योबेला माओवादीका नेता नन्दबहादुर पुनमगरले ३१८२ र गठबन्धनका गोपाल घर्तीमगरले २६२१ मत प्राप्त गरेका थिए।

माओवादीले ०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेर पालिकाको प्रतिनिधित्व गरिरहेको छ। गत निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर ओझेलमा परेको एमाले यसपालि भने एक्लै लड्ने छ।

एमालेबाट जिल्ला उपाध्यक्ष विजय कुमार घर्तीमगर र प्रदेश सदस्य प्रेम घर्तीमगरको नाम चर्चामा छ। यीमध्ये अघिल्लो निर्वाचनमा प्रेम घर्तीमगर गठबन्धनबाट उपाध्यक्षको उम्मेदवार बनेर पराजित थिए। तर विजय भने माओवादीमै थिए।

विजय र प्रेम गाउँपालिकाभित्र अन्य नेताहरूको तुलनामा लोकप्रिय छन्। उनीहरू हक्की स्वभाव र स्वच्च छविका मानिन्छन्।

आगामी निर्वाचनमा जनताको इच्छाअनुसार दुईमध्ये एक जनालाई पार्टीले अध्यक्ष पदमा उठाउने छ। माडीमा एकीकृत समाजवादीको केही प्रभाव रहेपनि गाउँ–गाउँमा एमालेकै प्रभाव रहेको विश्लेषण गरिन्छ।

पार्टी एकतापछि थुप्रै पूर्वमाओवादी नेता–कार्यकर्ताहरू एमालेमै रहेको नेताहरूको दाबी छ। कांग्रेसबाट अध्यक्षको दाबेदार गोपाल घर्तीमगर मात्रै देखिएका छन्। अघिल्लो स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अध्यक्ष पदमा लडेका उनी माओवादी उम्मेदवारसँग हारे।

यो गाउँपालिका कांग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तीमगरको पनि गृह पालिका हो। माओवादीबाट जितेका जनप्रतिनिधिले पाँच वर्षसम्म गरेको कार्यशैलीबाट आजित गाउँवासीहरूले विकल्प चाहेको एमाले–कांग्रेसको दाबी छ।

यता, माओवादी केन्द्रबाट अध्यक्षका आकांक्षी दुईजना देखिएका छन्। जसमा अहिलेका अध्यक्ष नन्दबहादुर पुनमगर, माओवादी माडीका अध्यक्ष अमरसिंह घर्तीमगर हुन्। यसमा पनि नन्दबहादुर बढी नै चर्चामा देखिएका छन्। जिल्लाका प्रभावशाली नेता दिपेन्द्र पुननिकट उनी फेरि दोहोरिने चर्चा छ।

नेकपा (एकीकृत साजवादी)बाट हरिप्रसाद घर्तीमगर पनि अध्यक्षको चर्चामा छन्। उनी एकीकृत समाजवादीका केन्द्रीय तथा जिल्ला अध्यक्ष हुन्।

एकीकृत समाजवादी बन्नुअघि एमाले रोल्पाको नेतृत्व गरिसेका हरिप्रसाद आगामी निर्वाचनमा अध्यक्ष भएर काम गर्ने सोचमा रहेको बताइन्छ।

माडीमा गठबन्धन गरेर गएमा आफ्नो पार्टीलाई फाइदा हुने उनी बताउँछन्। पार्टीले केन्द्रबाटै वार्ता गरेर गठबन्धन गरेमा पनि आफूहरू त्यसमा सहमत हुने उनको भनाइ छ। अन्यथा गठबन्धन नभएमा एक्लै जित्न सक्ने उनको दाबी छ।

प्रकाशित मिति: : 2022-04-07 09:23:00

प्रतिकृया दिनुहोस्