जुम्लामा गठबन्धन टुट्याे

File Photo
File Photo

जुम्लामा सत्ता गठबन्धनबीच गरिएकाे तालमेलकाे अन्तिम प्रयास असफल भएकाे छ। भागबण्डामा कुरा नमिल्दा गठबन्धन टुटेकाे हाे।

बिहीबार सत्ता गठबन्धनकाे कर्णाली प्रदेेशले जुम्लाका आठवटा स्थानीय तहहरुमध्ये चार कांग्रेसले, तीन माओवादी र एक समाजवादीले पाउने गरी भएकाे सहमति जिल्लाका दलहरुले नमान्दा गठबन्धन टुटेकाे नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुँवरले बताए।

'हामीले प्रदेशकाे निर्णय स्वागत गर्याैं। तर समाजवादीले मान्दैनाै भन्याे,' उनले भने, 'कांग्रेसले पनि एक्लाएक्लै चुनाव लड्ने भनेर अड्डी कसेपछि गठबन्धन औपचारिक रुपमा भत्किएकाे छ।'

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ स्थानीय तहमा प्रमुख जितेको थियो। माओवादी केन्द्रले ३ र नेकपा एमालेले एक स्थानीय तहमा प्रमुख जितेको थियो।

तर जुम्लामा एकीकृत समाजवादीले दुई स्थानीय तह प्रमुख दाबी गरेकाे थियाे। यसअघि कांग्रेस र माओवादी केन्द्रले दुई स्थानीय तह दिन नसकिने अडान राखेपछि गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको थियाे।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीचको बैठकमा भागबण्डा नमिल्दा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले जानकारी दिए।

उनका अनुसार जिल्लामा भागबण्डा मिल्न नसकेपछि प्रदेशबाट भागबण्डा मिलाएर परिपत्र आएको थियाे। जसमा कांग्रेसले ४, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले एक पालिकाका पाउने उल्लेख थियो।

एकीकृत समाजवादीले प्रदेशले गरेको भगबन्डामा असहमति जनाउँदै गठबन्धनबाट बाहिरिने जनाएपछि मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णयमा पुगेको जनाइएको छ।

एकीकृत समाजवादीका जिल्ला सचिव आदिप्रसाद न्यौपानेले सम्मानजनक भागबण्डा नभएकोले तालमेलको संभावना नरहेको बताए।

'मित्रवत् प्रतिस्पर्धा गरौं। गठबन्धन कायम राखौं भन्नेमा सबै सहमत भएको अवस्था छ,' उनले भने, 'अब हामीले अलग अलग चुनाव लड्छाैं।'

गठबन्धन दलको बैठक निष्कर्षमा नपुग्दा कार्यकर्तामा अन्योलता थियो। जिल्लामा तालमेलको लागि कांग्रेस सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा कार्यदल बनेको थियो।

प्रकाशित मिति: : 2022-04-24 18:35:00

प्रतिकृया दिनुहोस्