हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा नेपाली कांग्रेसका दुई/दुईजनाले अध्यक्ष पदको टिकट पाएका छन्।
हेटौंडाको २, १० र १९ नम्बर वडामा कांग्रेसका दुई/दुईजना नेताहरुले टिकट पाएका हुन्।
२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरे १० मा रमेशध्वज कार्की र युवराज लामा तथा १९ मा रामकुमार थापा र शालिकराम अधिकारीले कांग्रेसको तर्फबाट वडा अध्यक्षको टिकट पाएका हुन्।
सबै टिकटमा नेपाली कांग्रेसका बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र वादेको हस्ताक्षर रहेको छ। २ नम्बर वडाका महर्जनले कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराइसकेकोले घिमिरेले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। यस्तै १० नम्बर वडामा कार्कीले मनोनयन दर्ता गराइसकेकोले लामाले उम्मेदवारी दर्ता नगराई हिंडेका थिए।
१९ नम्बर वडामा रामकुमार थापाले मनोनयन दर्ता गराएको थाहा पाएपश्चात अर्का दावेदार शालिकराम अधिकारी उम्मेदवारी नै नदिएर फर्केका थिए। एउटै वडामा एउटै पार्टीबाट दुईजनालाई टिकट दिएको भन्दै कांग्रेसका नेताहरु जिल्ला नेतृत्वसंग असन्तुष्ट बनेका छन्। जिल्ला समितिले मनलाग्दी गरेको भन्दै उनीहरुले विरोध समेत जनाएका छन्।