ईश्वरी राई (इशु)
शिल्पकलामा जीवन बिताएकी उनी थाकिसकेकी छिन्। उमेरले ६७ कटेकी उनी शिल्पकलामा रुची राख्छिन्। त्यसैले त उनले ललितपुरमा ‘नेवा वुड क्याभिङ इन्डस्ट्री’ खोलेकी छिन्। जहाँ काठबाट बनाइएका शिल्पकलाहरू छन्।
सकुन्जेल शिल्पकला गरेकी उनी अब उमेरले साथ नदिएको बताउँछिन्। ‘अब त काम गर्ने उमेर पनि छैन। तर यो कामबाट टाढा जान पनि सक्दिनँ’ उनले भन्छिन्, ‘हामीलाई चिनाएको यही कामले त हो। त्यसैले शिल्पकलासँगै छु।’
ललितपुरकी दानदेवी बज्रचार्यले १७ वर्षको उमेरमा सिकिन्, शिल्पकला गर्न। कलिलो उमेरमै विवाह गरेकी उनले ससुरालमै जानिन्, काठबाट मूर्ति बनाउन।
हुन त उनलाई काम गर्न कसैले भनेको होइन तर उनलाई रहर थियो– साधारण काठलाई कोपेर आकृतिमा ढाल्न।
‘मेरो सबैजना परिवार नै यही पेशामा हुनुन्थ्यो। त्यसैले मैले पनि यो काम गर्न सिकेँ’, उनले बिएल नेपाली सेवालाई सुनाउँदै भनिन्, ‘यो काम गर्नु मेरो बाध्यता होइन रहर थियो।’
सुरुवाती दिनहरुमा काठलाई छुराले खोप्दा उनलाई चोट नलागेको होइन, तर पनि उनले हारै मानिनन्।
‘भर्खरै काठलाई कोतरेर मूर्ति बनाउन खोजेको हातबाट रगत बग्यो’ ५० वर्षअघिको कुरालाई याद गर्दै उनले भनिन्, ‘हात कत्तिखेर काटियो थाहै भएन।’
मन र मस्तिष्कमा नै शिल्पकला गर्ने सोच बनाएकी उनी वर्ष दिनमा त सिपालु भइसकेकी थिइन्। उनले गरेका शिल्पकला बिक्री पनि हुन थालिसकेकाे थियो।
‘शिल्पकला मैले कहिले गरेकी थिइनँ तर सिकेपछि जानेँ’, उनले भनिन्, ‘मनमा काम गर्ने अठोट भइसकेपछि जस्तोसुकै काम गर्न पनि सकिने रहिछ।’
आफूले शिल्पकला सिक्नका लागि गरेको मेहनतले फल दिएको उनको भनाई छ। भन्छिन्, ‘मैले गरेको मेहनत खेर गएन।’
दशकदेखि पसल सञ्चालन गरेकी उनीकहाँ नेपालीभन्दा धेरै विदेशी आकर्षित हुने गर्छन्।
‘शिल्पकलाका सामानहरु किन्न पर्यटकहरु खुबै रुचाउने गरेका छन्’, उनले भनिन्, ‘त्यसैले मेरो ग्राहक नेपालीभन्दा पनि धेरै विदेशी नै छन्।’
शिल्पकला भनेको के हो?
साधारणतया हातको कलाको रूपमा सिर्जना गर्ने कार्यलाई नै शिल्पकला भनिन्छ। यसमा व्यक्तिको भावनात्मक अभिव्यक्ति कलाको रूपमा प्रस्फुटन हुन्छ।
शिल्पकलाको प्रारम्भ पौराणिक कालदेखि भएको विभिन्न धार्मिक ग्रन्थमा समेत उल्लेख गरेको भेटिन्छ। शिल्पकला काठ, ढुङ्गा र तामा पित्तलमा गर्न सकिन्छ।
पुर्ख्यौली पेशा शिल्पकला
शिल्पकला आफूहरुको पुर्ख्यौली पेशा भएको दानदेवी बताउँछिन्। भलै, पुस्तौँदेखिको काम शिल्पकला भएतापनि उनलाई यकिन छैन, उनी कति पुस्तामा पर्छिन्।
‘हाम्रो वंशज नै यही पेशामा हुनुन्थ्यो तर कति वर्षदेखि हाे त्यो थाहा छैन’, उनले भनिन्। पुस्तेनी पेशालाई आफूहरुले सम्हालेका कारण आफ्ना सन्तानहरुले पनि नछाड्नुपर्ने उनी बताउँछिन्।
‘हामीलाई चिनाउने हाम्रो पुर्ख्यौली पेशालाई बिर्सियौँ भने हाम्रो नामै मेटिन्छ। त्यसैले यसलाई हामीले बिर्सिन हुँदैन’, उनले भनिन्, ‘मेरा सन्तानले पनि यो पेशालाई नत्यागोस्।’
एउटा मूर्तिको मूल्य डेढ लाख
दानदेवीको पसलमा काठबाट बनाइने विभिन्न सामान जस्तै- भगवानको मूर्ति, फ्रेम, आखीँ झ्याललगायत पाइन्छ। जसको मूल्य सय रुपैयाँदेखि लाखौँसम्म पर्ने उनले बताइन्।
पसलमा सजाइएको एक फिट अग्लो मूर्तिलाई देखाउँदै उनले भनिन्, ‘यो भगवानको मूर्ति, मूल्य डेढ लाख पर्छ। हामीले मूर्तिको उचाई अनुसारको मूल्य लिने गर्छौँ।’
त्यसैगरी उनीकहाँ बनेका आखीँ झ्यालहरु छन्। जसको मूल्य पनि लाखौँ पर्ने उनले सुनाइन्। ‘यसलाई हामीले अर्डरअनुसार बनाउने गरेका छौँ’, उनले भनिन्।
शिल्पकलामा युवा आकर्षित
काठलाई आकृति दिएर मूर्ति बनाउने उनी त्योभन्दा पहिले ढुङ्गा खोप्ने गरेको बताउँछिन्। तर ढुङ्गा चाहेको जस्तो नपाएपछि काठबाट शिल्पकला गर्न थालेकाे उनले बताइन्।
‘योभन्दा पहिले हामी ढुङ्गाबाट मूर्ति बनाउँथ्यौँ तर विस्तारै काठमा लाग्यौँ’ दानदेवी भन्छिन्, ‘साधारण काठ र ढुङ्गालाई मूर्तिको रुप दिन गाह्रो छ।’
पहिले र अहिले गरेको शिल्पकला फरक रहेको उनी दाबी गर्छिन्। ‘हाम्रा जुजुबाजे सिपालु शिल्प कलाकार हुनुन्थ्यो। पाटन कृष्ण मन्दिरको शिल्पकला उहाँहरुले नै गर्नुभएको हो’, उनले भनिन्, ‘उहाँहरु जस्ता शिल्प कलाकार त अहिले भेट्नै मुस्किल छ।’
विगतका जस्ता शिल्प कलाकार नभएतापनि शिल्पकलामा युवा आकर्षित रहेको उनको भनाइ छ।
‘अहिलेका पुस्ताहरु पनि यो क्षेत्रमा लोभिएका छन्, त्यसैले त हाम्रो काम चलिरहेको छ’, उनी भन्छिन्, ‘तर नयाँ पुस्ताहरू काम सिक्न वर्ष दिन लगाउँछन्।’
काठको अभाव
काठका सामान बनाउनका लागि काठकै अभाव रहेको उनी बताउँछिन्।
विगतका दिनमा काठ किन्न मुस्किल नभएतापनि हालै काठको समस्या भएको शिल्पकार बताउँछिन्। ‘अहिले काठ पाउन नै मुस्किल हुन्छ’, उनले भनिन्, ‘काठको पुरै अभाव भइरहेको छ।’

कोरोना कहरदेखि आफ्नो व्यापार सुक्न थालेको उनको गुनासो छ। विगतमा दिनकै लाखा रुपैयाँको सामान बेच्ने उनी भन्छिन्, ‘पहिलेको जस्तो व्यापार अहिले छैन।’
काठको समस्याका कारण पनि व्यापार अस्ताउन थालेकाे उनको बुझाई छ।
‘चाहिएको बेला काठै पाइँदैन, कहाँबाट हुनु र व्यापार? सरकारले यो विषयमा ध्यान दिए हाम्रो लागि राम्रो हुन्थ्यो’, उनी भन्छिन्, ‘सरकारले हाम्राे समस्या बुझे नेपालकाे इतिहास कायम रहन्छ।’
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया