विश्वका सबैभन्दा अग्ला १४ हिमालकाे दाेहाेराे आराेहण गरेर सानुले रचे इतिहास

File photo by everestchronicle

सुप्रसिद्ध नेपाली पर्वतारोही सानु शेर्पाले विश्वको सबै अग्ला १४ वटा हिमाल चढेर इतिहास रचेका छन्। उनले आज बिहान पाकिस्तानस्थित गाशेरब्रम- २ हिमालको सफल आरोहण गरेसँगै विश्वको १४ वटा चुचुरोको दोहोरो आरोहण गर्ने पहिलो आरोही बनेका हुन्।

पायोनियर एडभेन्चरका अध्यक्ष पासाङ शेर्पाकाअनुसार सानु शेर्पाले पाकिस्तानको जि-२ हिमाल बिहीबार बिहान ८:१७ बजे चढेको हुन्।

उनीसँगै जापानी पर्वतारोही नाओको वातानाबे र विभिन्न अन्य आरोहीहरूले पनि आजै गशेरब्रम- २ आरोहण गरेका छन्। त्यस्तै रोमानियाका एड्रियन लाजा र दुई नेपाली शेर्पा तेन्जिङ र छाङ्बाले पनि आरोहण गरेका छन।

सानु शेर्पाको विश्वको १४ वटा हिमालमा दोहोरो आरोहण सफलता हासिल गरेकोमा शुभकामना दिँदै सम्पूर्ण नेपाली माउन्टेन गाइडको लागि अत्यन्त खुसीको क्षण भएको पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान)का अध्यक्ष सञ्जिव गुरुङले बताए। नेपाली माउन्टेन गाईडहरु हिमाल आरोहण क्षेत्रमा विश्वमै अव्वल भएको बताउँदै उनले थपे,‘नेपाली पर्वतारोहीहरु विश्वकै उत्कृष्ट पर्वतारोही मध्य हुन् र उनीहरूसँग विश्वका कुनै पनि गाइडभन्दा सीप, अनुभव र दक्षताको कमि छैन भन्ने प्रमाणित गरेको छ।’

संखुवासभा जिल्लामा जन्मेका ४७ वर्षीय सानु सुप्रसिद्ध नेपाली पर्वतारोही हुन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट ८ हजार मिटर अग्ला हिमालको आरोहण सुरु गरेका थिए।

सन् २००६ देखि २०१९ को बिचमा सानुले विश्वको सबै ८ हजार मिटर अग्लो चुचुरो चढेका थिए। दुर्गम गाउँका गरीब परिवारमा जन्मेका सानु सन् २००५ मा जागिरको खोजीमा काठमाडौं आएका थिए। पर्यटन क्षेत्रमा पहिलो पटक भरियाको जागिर पाए। उनले कोरियाली टोलीले चो ओयु पर्वतारोहणको पहिलो पटक हिमालतर्फ लागे। भरिया हुँदै पछि उनले हिमाल एक्सपिडिशनको नेतृत्व गर्न थाले र सन् २०१९ मा पहिलो पटक १४ चुचुरो आरोहण गर्ने उनी तेस्रो नेपाली आरोही बनेका थिए। सानु नेपाल, चीन र पाकिस्तानमा रहेका ८ हजार मिटर (२६,००० फिट)भन्दा माथिका सबै १४ वटा चुचुरो आरोहण गर्ने नेपाल र दक्षिण एसियाका तेस्रो व्यक्ति हुन्। आफ्नो प्रारम्भिक जीवनकालमा संखुवासभा जङ्गलमा भेडा र चौँरी चराएर गोठालाको रुपमा जीवन बिताएका थिए।

सानु शेर्पाको शिखर आरोहणका विवरण:

सगरमाथा - २००७, २००८, २००९, २०१२, २०१३, २०१६ र २०१७

केटु - २०१९ र  २०२१

धौलागिरी – २०१९, २०२१

चो ओयु - २००६ र २००८ 

मनास्लु – २०१० , २०११ र २०१६

शिशापाङ्मा – २००६ र २०११

ल्होत्से –२००८, २०२१ र २०२२

गाशेरब्रम-१ - २०१३ र २०१९

गाशेरब्रम-२ - २०१९ र २०२२

कञ्चनजङ्घा - २०१४ र २०२२

ब्रोड पिक - २०१४ र २०१७

अन्नपूर्ण - २०१६ र २०२१ 

नङ्गा पर्वत – २०१७, २०१८ र २०२२

मकालु – २०१९ र  २०२२

प्रकाशित मिति: : 2022-07-21 14:56:00

प्रतिकृया दिनुहोस्