व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्दै युवा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरुले जिल्लामै पहिलो पटक व्यवसायिक बाख्रा पालनबाट लाखौँ आम्दानी गर्न थालेका छन्।

अहिले बाख्रा बेचेरै वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्छन्।

चार वर्षअघि नगरपालिकाको वडा नं. ५ खदाङ्गमा दुई जना युवा मिलेर पच्चीस वटा बाख्राबाट सुरु गरिएको व्यवसाय फस्टाएर दुई सय बाख्रा पुगेका छन्।

डोल्पालाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्यले बाख्रापालन व्यवसाय सुरु गरिएको हरियापानी बाख्रा पालन कृषक समूहका सचिव राजेन्द्रप्रसाद उपाध्यायले बताए।

अहिले मासुकै लागि वार्षिक करोडौँ रुपैयाँ जिल्ला बाहिर गइरहेकाले त्यो रोक्न केही वर्षभित्रै जिल्लाभरिको मासुको मागलाई परिपूर्ति गर्ने उनले बताए।

अहिले व्यवसायको चल अचल सम्पति जोड्दा करिब चालिस लाख पुग्नुका साथै दुई जना युवाले रोजगारी समेत पाएको उनले बताए।

‘अहिले बाख्रा फर्ममा लोकल खरी जात र जमुनापारी गरेर दुई जातका बाख्राहरु रहेका छन्, हाम्रो मुख्य उदेश्य निकट भविष्यमै हजार बाख्रा पुर्याउने र करिब दश जना स्थानीय युवालाई रोजगारी दिने रहेको छ’, उनले भने।

त्यतिमात्र नभई फर्मको वरिपरि भएका नाङ्गा डाँडापाखामा वृक्षारोपण गरेर हराभरा गराउने रहेको उनले बताए।

स्थानीय युवाहरुको व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक खोर निर्माणकालागि पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट गत आर्थिक बर्षमा बाह्र लाख अनुदान सहयोग प्राप्त भएको थियो।

अझै पनि कहिँकतैबाट सहयोग प्राप्त भए बाख्राको सङ्ख्या बडाउने र बिरामी भएका बाख्रा राख्न आइसोलसन घर बनाउने उदेश्य रहेको युवाहरुको भनाइ छ।

स्थानीय युवाहरु मिलेर स्वदेशमै केही गरौँ भन्ने मनसायले सुरु गरेको व्यवसायलाई स्थानीय सरकारले आर्थिक नैतिकलगायतको कुनै पनि सहयोग नगरेको भन्दै उनिहरुको गुनासो गरे।

डोल्पामा हुने मासुको मागलाई पूर्ति गर्न अहिले रुकुम, जाजरकोट, मुस्ताङ, जुम्लालगायतका जिल्लाबाट हजारौँको सङ्ख्यामा खसीबोका भित्रने गर्दछन्।

प्रकाशित मिति: : 2022-08-04 13:37:00

प्रतिकृया दिनुहोस्