विराटनगरकाे ब्रह्मपुराबासी भन्छन् : ‘मन्त्री कार्कीले हाम्रो पीडा सुनेनन्’

विराटनगर महानगरपालिका–६ ब्रह्मपुरा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ। प्रदेशसभातर्फ भने ६ ‘ख’मा पर्छ।

मोरङ–६ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमालेबाट पार्टी स्थायी कमिटी सदस्य लालबाबु पण्डित प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।

यही क्षेत्रबाट प्रतिस्पर्धा गरेका कोइराला २०७४ सालको निर्वाचनमा पण्डितसँग पराजित भएका थिए। आगामी निर्वाचनका लागि पनि एउटै मैदानमा पुरानै प्रतिस्पर्धी आम्नेसाम्ने भएका छन्।

प्रदेशसभातर्फ कांग्रेसका केदार कार्की र एमालेका पर्शुराम बस्नेत उम्मेदवार छन्। उनीहरु बीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी माहोल गर्माएको छ।

उम्मेदवारहरु घरघरमा पुगेर मतदातासमक्ष मत मागिरहेका छन्। आफूलाई जिताउन आग्रह गर्दै अनेक आश्वासन दिएर मतदाता फकाउन व्यस्त छन्।

२०७४ सालमा कार्की यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी बनेका थिए। उनी हाल प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। मन्त्री भएपछि अनेक विवादमा मुछिए। 

उनका प्राय कामकारबाही र निर्णयहरु विवादित छन्। जनभावनाविपरीतका काम गरेको र विभिन्न अनियमिततामा मुछिएको आरोप मतदाताले लगाइरहेका छन्।

त्यही भएकाले निर्वाचनको माहोलमा मोरङ क्षेत्र नम्बर ६ ‘ख’को चर्चा अलि धेरै हुने गरेको छ।

विगतमा निर्वाचन जितेर गएपछि फर्किएर नआएको, मतदाताको गुनासो नसुनेको, सीमित झुण्ड तथा स्वार्थ समूहलाई च्यापेर हिँड्ने गरेको र योजनाहरुमा घोटाला गरेको आरोपका बीच कार्की मत माग्दै मतदातासमक्ष पुगिरहेका छन्।

आफूमाथि लागेका आरोप चिर्ने प्रयास गर्दै आफूलाई भोट दिन आग्रह गरिरहेका छन्। तर खुलेआम रूपमा गरेको बदमासी ढाकछोप गरिरहेको भन्दै मतदाताले कार्कीका कुरा पत्याएका छैनन्। उनलाई पुनः चुनाव जिताउनु भनेको फेरि ५ वर्ष पछुताएर बस्नु हो भनिरहेका छन्।

त्यहाँमाथि कार्कीका प्रतिस्पर्धी एमालेका युवा नेता बस्नेत छन् । चुनावी मैदान उनका लागि नयाँ भए पनि विभिन्न संघ संगठनमा बसेर सफल नेतृत्व गरेका कारण उनीप्रतिको क्रेज बढ्दो छ। 

विशेष गरेर युवाहरुको साथ उनले पाएका छन्। बिहीबार बिहान ब्रह्मपुरामा बस्नेतको उपस्थितिमा एमालेले गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रमले पनि त्यसको पुष्टि गर्छ।

सीमित व्यक्तिहरु मिलेर सुरु गरेको घरदैलो केही बेरमै ठूलो समूहमा परिणत भएको थियो। घरघरबाट घरदैलोमा सहभागी हुनेहरुको ताँती लाग्यो।

जसले बस्नेतलाई उत्साहित बनायो। युवायुवतीदेखि वृद्धवृद्धासमेत भोट माग्दै बस्नेतसँगै घरदैलो र मतदाता भेटघाटमा सामेल भए।

ब्रह्मपुरा कांग्रेसको किल्ला भनेर चिनिन्छ। गत स्थानीय तह निर्वाचनले पनि त्यही पुष्टि गर्छ। किनभने कांग्रेसका अक्षयलाल भनिने हरिश्चन्द्र सहनीले वडाध्यक्ष जितेका छन्। 

कार्कीनिकटका सहनीले उनकै जोडबलमा टिकट पाएर चुनाव जितेको स्थानीय बताउँछन्। तर वडाध्यक्ष जितेपछि कार्कीसँगै सहनी पनि अनेक विवादमा मुछिँदै गइरहेका छन्।

बिहीबार विहानको दृष्य भने फरक थियो। एमाले उम्मेदवार बस्नेतको पक्षमा महोल बनेको अनुमान लगाउन सकिन्थ्यो।

हात जोडेर नमस्कार गर्दै उनले भोट मागिरहँदा चुनाव जितेर गएपछि ‘कार्कीले जस्तो जनतालाई बेवास्ता नगर्नु है’ भनेर वृद्धवृद्धाले आर्शीवाद दिन्थे। बस्नेतको विजयका लागि साथ दिने प्रतिवद्धता जनाउँथे।

‘केदार कार्कीलाई चुनाव जिताएपछि हामीले ५ वर्ष पछुताएर बस्नु परेको छ। अब पनि उनैलाई जिताउनु भनेको आफ्नै खुट्टामा ‘बन्चरो’ हान्नु हो,’ ५० वर्षीया कलादेवी चौधरीले भनिन्, ‘अब मतदाता सचेत भइसके। बिर्सिएर पनि त्यस्तो गल्ती गर्न हुँदैन भनेर हामी टोलमा छलफल चलाइरहेका छौँ।’ कलादेवी कांग्रेसकी पुरानै कार्यकर्ता हुन्।

६१ वर्षीय वसन्त कामतले लामो समयदेखि कांग्रेसलाई सहयोग गरेर गल्ती गरेको सुनाए। ‘पार्टी नराम्रो हैन। तर कार्कीजस्तै पार्टीभित्रका पात्रहरु खराब भए,’ उनले भने, ‘यस्तै पात्रका कारण आज पार्टीले नोक्सानी बेहोर्नुपर्ने अवस्था छ। पार्टीलाई भजाएर आफ्नो दुनो सोझ्याउने कामभन्दा केही पनि गरेनन्।’

४९ वर्षीय राजेश सहनी कार्कीप्रति निक्कै आक्रोसित छन्। ‘चुनाव जितेपछि केही गरेनन्। अरुले गरेको कामलाई मैले गरेको हो भनेर झुटा प्रचार गरिरहेका छन्,’ राजेश भन्छन्, ‘ढाँटछल गरेर जनतासँग मत माग्दैछन्। तर हाम्रो ठाउँमा समस्याका चाङ जस्ताको तस्तै छ।’ 

जनता पीडामा परिरहँदा कार्कीले आफ्नो र वडाध्यक्ष सहनीको नाममा समेत जग्गा किनेर धेरै सम्पत्ति जोडेको राजेशको दाबी छ।

मञ्जुदेवी महतोको परिवार १७ वर्षदेखि ऐलानी जग्गामा बसोबास गरिरहेको छ। गत निर्वाचनमा सुकुम्बासीलाई जग्गा दिने र घर बनाइदिने भनेपछि कार्कीलाई मत दिएको उनले बताइन्।

चुनाव जितेर गएपछि एकपटक पनि फर्किएर नआउँदा कार्कीसँग धेरै चित्त दुखेको मञ्जुदेवीको गुनासो छ। ५० वर्षीय बलराम कामत चुनाव जितेर गएपछि केदार कार्कीले गरेका बदमासीको फेहरिस्त आफूसँग रहेको सुनाउँछन्। 

बलरामले ५ बर्से कार्यकालमा जनविरोधी काम गरेका कार्कीलाई पुनः भोट माग्दै जनताको बीचमा आउने अधिकार नभएको बताए।

प्रकाशित मिति: : 2022-11-11 11:07:00

प्रतिकृया दिनुहोस्