वीरेन्द्र कनौडियाको ४३ वर्षे राजनीतिक अन्दाज

BreaknLinks
BreaknLinks

६ वर्ष पहिले चिरई खोला झोलुङ्गे पुल पार गर्नै लाग्दा मोटरसाईकलमा सवार कृष्णनगर–१२ मानपुरका राम सवारे खटिक  पुलबाट तल खसेर घाइते भए। उनी अहिले पनि शारिरिक रुपमा असक्त छन्। 

जसोतसो राईकल चलाउन सक्ने सम्म भएका खटिक ४० वर्षका भए। परिवार चलाउन दिनहुँ यो पुल वारपार गर्नुपर्छ उनलाई। ५ छोरा ५ छोरीका बाबु राम सवारेका १५ सन्तान जन्मिए। ५ सन्तानले अकालमा ज्यान गुमाए। यीनै खटिक यतिबेला भने चुनावमा मत माग्न आउनेहरुसँग पुल बनाईदिन अनुरोध गरिहेका छन्।

यस क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्र कुमार कनौडिया छन्। कपिलवस्तु ३(२)का उम्मेद्ववार यो क्षेत्रमा घरदैलो सहित पुगेका छन्। 

मंगलबार पुनः पुगेका कनौडियाले कांग्रेस नेतृत्वमा प्रदेश सरकार बन्यो भने संघीय सरकारसँग यहाँ पुल बनाउन पहल गर्ने बताउँदै थिए। चुनावमा भोट माग्न आएका कनौडियासँग कृष्णनगर–१२ वेदमऊका सुदिप त्रिपाठीले स्थानीय स्वास्थ्य चौकीका लागी एम्वुलेन्सको माग गरिरहेका थिए।

पछिल्लो समय कनौडियाको चुनावी क्षेत्रमा आएको वजेटले यस क्षेत्रका स्थानीयवासीहरुमा उनी प्रति विश्वास बढ्दै गइरहेको छ।

प्रदेश सभा सदस्य कनौडियाले विकास निर्माणमा गरेको लगानीले स्थानीयवासीहरुलाई सहज जिवन यापनमा सघाउ पुगेको बताउँछन  कृष्णनगर–२ का महेश कश्यप।

सडक, सिंचाई, वस्ति झोपडी मुक्त वस्ति विकासका लागी वजेट आउँदा गरिव वस्तिका जनतालाई आवासमा समेत सहजता हुँदै गईरहेको छ।

आफ्नो चुनावी क्षेत्रमा घरदैलो अभियानमा हिंडेका कनौडियाका प्रतिबद्धतालाई मतदाताहरुले नजिकबाट नियालिरहेका पनि छन्। कनौडिया पनि मतदाताको मतको सम्मानका लागी प्रतिबद्ध रहेको बताइरहेकाछन्।

हरेक दिन विहान उठेदेखि उनको दैनिकी सर्वसाधारण र कार्यकर्ता भेटघाटमा वित्ने गर्छ। कार्यकर्ता र सर्वसाधारणका काममा घण्टौं समय विताईरहेका कनौडियाको यो शिलशिला चलेको वषौं भयो। 

कनौडियाको पुख्र्यौली थलो कपिलवस्तुको वडा–२ कृष्णनगर हो। कनौडिया को सामाजिक सेवामा लागिरहने मारवाडी परिवारको जीवन साधारण र सरल छ। त्यही मारवाडी परिवारका सदस्य वीरेन्द्र कनौडिया कपिलवस्तु जिल्लाका नेपाली कांग्रेसका सदावहार नेता  हुन। नेपाली कांग्रेस पार्टीमा उनको योगदान निरन्तर छ। पार्टीमा नयाँ कति आउँछन पुराना कति जान्छन। तर उनी अविछिन्न पार्टी संगठनमै छन्,जहिले देखी कांग्रेसमा आवद्ध भए। विचलित नभएर कृष्णनगरमा सति शाल झैं उभ्भिएका छन्। जनताका काम र कार्यकर्ताबीच उनको दिनचर्या यसरी अघि बढीरहेको ४३ वर्ष बितिसकेको छ।

उनका छिमेकी उनलाई प्रेम र सम्मानपुर्वक मन्त्री ज्यू नै भनेर सम्बोधन गर्छन। संवाद गर्दा सम्बोधनको प्रति उत्तरमा कनौडिया प्राय साइनो जोडेर कुरा गर्छन्। युवा पीढिलाई नाम र साईनो दुवै तरिकाले सम्बोधन गर्छन। 

२०५६ सालमा मन्त्री भएदेखि उनि प्रतिको सर्वसाधारणको सम्मानको यो उचाँईमा कहिल्यै कमी आएन।

वि.सं.२०१६ सालमा कपिलवस्तुको कृष्णनगरमा जन्मिएका कनौडियाको विद्यालय जीवन कृष्णनगर स्थित महेन्द्र माध्यामिक विद्यालयमा वित्यो। बीएसम्मको अध्ययन नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा गरे। थप उच्च शिक्षाका लागी उनि लखनऊ विश्वविद्यालय भर्ना भए। त्यहाँबाट कानुन विषयमा अध्ययन पूरा गरे। कनौडिया  अध्ययनसँगै पूख्याैली व्यापार व्यवसाय भन्दा बढी जनताको सेवामा जुट्न थाले। 

माता सावीत्री देवी र पीता ओमप्रकाश कनौडियाको कोखबाट जन्मिएका साइला छोरा हुन कनौडीया।  सुलेखा कनौडिया सँग वि.सं. २०४२ फागुन २९  गते वैवाहिक जिवनमा वाँधिए। कनौडियाको समय परिवारका लागी निकै थोरै मिल्ने गरेको धर्मपत्नी सुलेखा बताउँछिन्।

कलिलो उमेरमा नै कांग्रेसमा जोडिए कनौडिया। ०३६ सालको जनमत संग्रह ताका पञ्चायती शासनका विरुद्ध आन्दोलनमा सक्रिय हुँदै नेपाली कांग्रेसको पार्टी सदस्यता लिएका कनौडिया राज्यको नजरमा तारो बनिरहे।

प्रजातन्त्रको उदयसँगै ०४९ सालमा जिल्ला विकास समिति कपिलवस्तुको उप सभापति भए। प्रजातन्त्र स्थापनामा युवा अवस्थाको उर्जा खर्चेका कनौडिया २०५६ सालमा प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनलाई तत्कालिन अवस्थामा कांग्रेसले विश्वास स्तम्भका रुपमा उम्मेद्वार बनाएर अवसर दियो। 

२०५८ सालमा जलश्रोत राज्य मन्त्री भईसकेका कनौडिया  पार्टी संगठनमा पटक पटक महाधिवेशन प्रतिनिधि भएर केन्द्रिय नेतृत्व चुन्ने काममा महत्वपुर्ण भूमिका निर्वाह गरेका छन्।

राजनीतिमा लागेकै कारण व्यावसायमा समय दिन नसक्दा उनको व्यावसाय सोचे जस्तो माथि उठ्न सकेन। तर पार्टी कार्यकर्ता र जनताको साथमा उनले खर्चेको यो ४३ वर्षको जिवन प्रति भने उनलाई कुनै गुणासो छैन। 

'जिन्दगी एक सफर है सुहाना...गुनगुनाउँदै कनौडिया भन्छन–‘म राजनीतिक कर्म देखि कहिल्यै असन्तोष भएको छैन।’ हिन्दी चलचित्र ‘अन्दाज’को गीत फेरी जोड्छन कनौडिया–‘यहाँ कल क्या हो किस्ने जाना...।’ भोलि कस्ले देखेको छ र त्यसैले जे गर्छु जनताका लागी भनेर अहिले नै गर्छु।

चुनावी माहोलमा कृष्णागर पुख्यौलि थलोमा बसेर काम गर्दा जिवनको सन्तुष्टि भरपुर मिल्छ कनौडियालाई।

कनौडिया अगाडी भन्छन –‘जनता र पार्टीले दिएको जिम्मेवारीबाट कहिल्यै भागेको छैन।’

कपिलवस्तु क्षेत्र नं. ३(२) का प्रदेश सभा सदस्य उम्मेद्वारलाई उनको क्षेत्रमा भावी मुख्य मन्त्रीका रुपमा समेत हेर्ने गरिएको छ। 

यीनै कनौडिया पछिल्लो समय लुम्बीनी प्रदेश नेपाली कांग्रेस संसदीय तलका नेता समेत भए। ‘सभाषद बनौंला,संसाद हुँला,मन्त्री हुँला भनेर राजनीतिमा कहिल्यै लागेको थिईन्।’–कनौडियाको यो अनुभुति कांग्रेस प्रतिको सम्पर्ण पनि हो।

प्रकाशित मिति: : 2022-11-16 12:48:00

प्रतिकृया दिनुहोस्