आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन्। कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी बाग्लुङ–१ प्रदेश सभा (ख) बाट चुनावी मैदानमा उत्रिएका छन्।
उनलाई सत्ता गठबन्धनको साथ छ। सुवेदीको प्रतिष्पर्धीको रुपमा यही क्षेत्रबाट एकताका कांग्रेसमा रहेर काम गरेका र अहिले एमालेबाट उम्मेदवार बनेका नवराज पौडेल चुनावी मैदानमा छन्।
यी दुबै जनाबीच रोचक प्रतिष्पर्धा हुने देखिएको छ। प्रस्तुत छ उनै डिल्लीराम सुवेदीसँग गरेको कुराकानी :
पहिलोपटक निर्वाचनको प्रतिष्पर्धा गर्दाको अनुभव कस्तो गरिरहनु भएको छ?
एकदमै उत्साहजनक छ। बाग्लुङको दक्षिणी क्षेत्रका विकट गाउँहरुमा पुगेको छु। धानबाली थन्क्याइरहेका किसानलाई खेतबारीमै पुगेर भेटिरहँदा उहाँहरुले सकरात्मक प्रतिक्रिया दिनु भएको छ। उहाँहरुले तिमी योग्य छौ र चुनावका बेलामा मात्रै आउने नगर्नू भन्ने सुझाव दिनुभएको छ। यसलाई हृदयमा लिएर फर्किएको छु।
चुनावी माहोलमा सबैले राम्रो भन्छन्। अरू उम्मेदवारहरूको भन्दा तपाईं कसरी फरक?
यो तुलना गर्ने कुरा त जनताको हो। तर, पनि जनताका माझ पुगिरहँदा, भेटिरहँदा हामीले कुनै झुटा आश्वासन दिएका छैनौँ। प्रदेश सांसदको काम कर्तव्य अधिकारको विषयमा संविधानले निर्दिष्ट गरेका नीति नियमभित्र रहेर राजनीतिक मूल्यको आधारमा काम गर्ने प्रतिबद्धता छ।
यसलाई समग्रमा भन्दा विचारको दृष्टिकोणले ठिक ठाउँ उभिने, विकासको एजेण्डाको दृष्टिकोणले जनताका बीचमा बनेका योजनाहरुलाई प्राथमिकता दिएर अबको १५ वर्षमा यो क्षेत्रलाई कहाँ पुर्याउने भन्ने स्पष्ट मार्गचित्र तथा गुरुयोजनासहित अघि बढ्ने तथा नेतृत्वको दृष्टिकोणले पारदर्शीतासहित जनताकाबीचमा रमाउने उद्देश्य बोकेर हामी हिँडेका छौँ। यो प्रतिबद्धता लिएर आएको हुुनाले उहाँहरुले रुचाउनु भएको छ।
तपाईंका एजेण्डाहरु के के हुन्?
हामीले भर्खरै सारेको प्रतिबद्धतामा पहिलो कुरा पहाडी भू–भागको शीरदेखिी कालिगण्डकीको तीरसम्म, थारदेखि भीरसम्म हाम्रो भू–भागमा रहेको सम्भावनाहरुको व्यवस्थित अध्ययन गरेर गुरु योजना बनाउँछौ।
दोस्रो अलपत्र र असरल्ल रहेका निर्माणाधीन आयोजनाहरुको व्यवस्थित व्यवस्थापन गर्ने, त्यस्तै नयाँ सम्भावनाहरुको खोजी गर्दै गर्दा पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा रहनेछ।
सार्वजनिक विद्यालय सुधार, युवा उद्यमशिलता, कृषीको बजारीकरण लगायत सबै बिषयको प्याकेज सहितको योजना लिएर अघि बढेका छौँ।
तपाईंको दलले टिकट नदिएपछि नवराज पौडेल एमालेमा जानु भयो नि। यसले तपाईंलाई असर गर्दैन?
मैले जनता जर्नादनहरु हो, तपाईहरुले गर्ने निर्णय मलाई शिरोधार्य छ भनेको छु। यसमा अब मेरो खासै टीप्पणी छैन।
सोचेविपरीत मत परिणाम आयो भने गाउँ फर्किन के गर्नुहुन्छ?
म त यही गाउँकै माटोमा खेले हुर्केर बढेको मान्छे। मेरा मर्दाका मलामी र बिहेका जन्ती यहीँ छन्। परिणाम जे आए पनि स्वीकार्य छ। म त हिजो पनि यहीँ थिएँ, भोलि पनि यही माटोमा नै, गाउँका बाआमा र मेरा मतदाताहरुकै काखमा रम्नेछु।
अन्त्यमा, मतदातालाई केही भन्न चाहनुहुन्छ?
मंसिर ४ को निर्वाचन नेपाली लोकतन्त्रको रक्षा, प्राण प्रतिष्ठा रहेकोले मतदान प्रक्रियामा सहभागी भएर आफ्नो मत प्रकट गर्न आग्रह गर्छु। जो मन पर्छ, उसैलाई मतदान गरि आफ्नो कर्तव्य पूरा गरिदिनुहोस्।
उम्मेदवारका योजना, विगत र उसको राजनीतिक प्रवृति हेरेर मत हालिदिनुहुन अनुरोध गर्दछु। म यति प्रतिबद्धता गर्दछु कि, तपाईले मलाई भोट दिएर जिताउँदा गलत गरेको रहेछु भन्ने भावना आउन नदिने गरी काम गरेर देखाउनेछु।