मतपेटीका कसरी पुर्‍याइन्छ गणनास्थल, साटिने जाेखिम हुन्छ ?

निर्वाचनमा मतदान सकिए लगत्तै मतगणनाकाे लागि मतपेटीका ताेकिएकाे गणनास्थल पुर्‍याइन्छ। मतपेटीका मतदान अधिकृतकाे राेहबरमा विशेष सुरक्षा व्यवस्थासहित मतगणनास्थल पुर्‍याइन्छ। यसक्रममा सहज र सुगम ठाउँमा गाडीकाे प्रयाेग गरिन्छ भने हिमाली तथा विकट क्षेत्रमा हेलिकप्टरमार्फत ढुवानी गरिन्छ।

मतपेटी ढुवानी गर्ने क्रममा के मतपेटी साटिने वा लुटिने सम्भावना हुन्छ त ? भन्ने प्रश्न धेरैमा हुन सक्छ। तर, मतपेटी ढुवानीमा कुनै त्यस्ता घटनाहरू नहुने गृह मन्त्रालयले बताएकाे छ।

प्रमुख गृह सचिव विनाेद प्रकाश सिंहकाअनुसार सरकारले मतपेटी ढुवानीकाे व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकाे हुन्छ। साेहीअनुसार प्रजिअले विशेष गाडीकाे व्यवस्थापन गरेर मतपेटी गणनास्थलसम्म पुर्‍याउने व्यवस्था मिलाएका हुन्छन्।

मतपेटी ढुवानीकाे कुनै पनि सुरक्षा निकायका सवारी साधन प्रयाेग नगरिने गृह सचिव सिंह बताउँछन्। तर, विशेष अवस्थामा भने मतदान अधिकृतकाे माग अनुसार नेपाली प्रहरी तथा सशस्त्र प्रहरीकाे गाडी पनि मतपेटीका ढुवानी गर्न सकिने व्यवस्था रहेकाे छ।

‘अरु गाडी नपुग्ने ठाउँ छ भने त्यहाँ निर्वाचन आयाेगले खटाएकाे प्रहरी वा सशस्त्रकाे गाडीले मतदान अधिकृतले हस्ताक्षर गरेर माग गर्नुभयाे भने त्यहाँकाे मतदान अधिकृत र चालक मात्रै गाडीमा बस्नेगरी ढुवानी गर्न पनि सकिन्छ तर त्यसकाे लागि पहिला नै मतदान अधिकृतबाट जानकारी र माग हुनुपर्छ,’ गृह सचिव सिंहले भने।

उनकाअनुसार त्यसक्रममा अगाडि पछाडि अरु गाडीहरू रहन्छन् तर सिल्ड गरिएर राखिएका मतपेटीका भएकाे गाडी अन्य काेही पनि बस्न पाउँदैनन्। जसकारण मतपेटी सुरक्षित हुनेगर्छ।

निर्वाचन सुरक्षा: २ लाख ९८ हजार सुरक्षाकर्मी र ४ स्थानमा हेलिकप्टर तैनाथ (भिडियाेसहित)

प्रकाशित मिति: : 2022-11-18 20:10:00

प्रतिकृया दिनुहोस्