देउवासामु उमेश श्रेष्ठको गुनासोः गगनले मलाई हराए, रवि लामिछानेलाई जिताए

File Photo
File Photo

रवि लामिछानेसँग चितवन–२ बाट चुनाव हारेर राजधानी फर्किएका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासामु एउटा गुनासो पोखेका छन्। उनले कांग्रेसभित्र संसदीय दलको नेताको दौडमा रहेका चर्चित महामन्त्री गगन थापाले आफूलाई अन्तरघात गरेर हराएको गम्भीर आरोप लगाएका छन्।

‘कांग्रेस नेताबाटै यस्तो होला भनेर मैले सोचेको पनि थिइनँ। महामन्त्री गगन थापाले मलाई हराए। चुनावका बेला मैले धेरै पटक सम्पर्क गर्ने प्रयास गरेँ। तर उनी फोन सम्पर्कमा आएनन्। मलाई हराएर नयाँ पार्टीका अध्यक्ष रवि लामिछानेलाई चितवनबाट जिताए। प्रधानमन्त्रीज्यू आफ्नै पार्टीका नेताहरू हराउनेलाई कारबाही गरियोस्,’ उनले भने।

देउवा पत्नी आरजु राणानिकट मानिएका व्यापारी नेता श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग साँठगाँठ गरेर चितवनबाट आफूलाई हराएको भन्दै महामन्त्री थापाको चर्को आलोचना गरेका छन्। देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार ‘गगन–रवि कनेक्सन’लाई नेपाली कांग्रेसको आगामी केन्द्रीय समिति बैठकमा थप चर्चा गरिने छ।

‘पार्टीले टिकट दिएर पठाएका उम्मेदवारहरू पार्टीका प्रतिनिधि हुन्। उनीहरूलाई जिम्मेवार नेता–कार्यकर्ताले जिताउनुपर्छ। तर महामन्त्रीजस्तो माथिल्लो तहमा पुगेको नेताले आफ्नै पार्टीका उम्मेदवार हराउने भन्ने कुरा हुन सक्दैन। यदि रवि लामिछानेलाई सहयोग गरेको खबर सत्य हो भने गगन भाइलाई पनि कारबाही हुनुपर्छ,’ ती केन्द्रीय सदस्यले भने।

चितवनबाट फर्किएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार पुगेको श्रेष्ठसहितको टोलीले महामन्त्री गगन थापानिकट नेता–कार्यकर्ताहरूले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गरेको दाबी गरेका छन्।

‘यसपालि काठमाडौँ होस् या चितवन कतैपनि गगन दाइको सकारात्मक रोल देखिएन। उहाँ हाम्रो नेता हो। प्रधानमन्त्रीको दाबी गर्दै हिँड्ने, आफ्नै उम्मेदवार हराउने यस्तो पनि हुन्छ,’ नेपाल विद्यार्थी संघका एक केन्द्रीय सदस्यले भने।

त्यसो त माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता–कर्ताकर्ताहरूले ‘रवि लामिछानेसँग मिलेर कांग्रेस महामन्त्री थापाले सत्ता गठबन्धनका उम्मेदवारहरूलाई काठमाडौं र चितवनमा हराएको’ भन्दै गम्भीर आरोप लगाइरहेका छन्।

चितवन–२ बाट रवि लामिछाने भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनी ३४ हजार २ सय ८१ मतान्तरसहित विजयी भएका हुन्। रविले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका थिए।



रविको बटमलाइनः गगनलाई प्रधानमन्त्री मान्छौं, देउवा–प्रचण्डलाई मान्दैनौं

प्रकाशित मिति: : 2022-11-28 17:47:00

प्रतिकृया दिनुहोस्