खोटाङका २२ मध्ये १६ उम्मेदवारको जमानत जफत

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खोटाङका १६ उम्मेदवारको जमानत जफत भएको छ।

मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेकामा प्रतिनिधिसभातर्फ ६ जना र प्रदेशसभातर्फ १२ उम्मेदवारको जमानत जफत भएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार जमानत जफत भएको हो। 

प्रतिनिधिसभातर्फका आठ उम्मेदवारमध्ये राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई, स्वतन्त्रका जयन्द्रकुमार राई, जनता समाजवादी पार्टीका कृष्णकुमार राई र मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगरको जमानत जफल भएको हो। कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा मनोनयन दर्ताका क्रममा धरौटी वापत राखेको १० हजार रकम जफत भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए। 

प्रतिनिधिसभातर्फ कुल ६४ हजार ४२२ सदर मत खसेको थियो। जमानत जोगाउनका लागि उनीहरुले कम्तीमा छ हजार ४४३ मत ल्याउनुपथ्र्यो। प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (विजयी) र एमालेका बिशाल भट्टराई (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ। 

यस्तै, आठ उम्मेदवार रहेको प्रदेशसभा (क)मा नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)का पदमप्रसाद आचार्य, नेपाल मजदुर किसान पार्टीका केशव राई, जनता समाजवादी पार्टीका राकेश राई, स्वतन्त्रका कुमारप्रसाद भट्टराई, स्वतन्त्र उम्मेदवार धर्मराज पोखरेल र मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईको जमानत जफत भएको हो। ३२ हजार ३९० सदर मत खसेको प्रदेशसभा (क)मा उनीहरुले कम्तीमा तीन हजार २३९ मत प्राप्त गरेको भए जमानत जफत हुनबाट जोगिन्थ्यो। प्रदेश (क)मा एमालेका पाँचकर्ण राई (विजयी) र नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राई (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ। 

छ जना उम्मेदवार रहेको प्रदेशसभा (ख)मा नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकाल, जनता समाजवादीका प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राई र मंगोल नेशनल अर्गनाइजेसनका विमला राईको जमानत जफत भएको छ। प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई (विजयी) र एमालेका रामप्रसाद दंगाल (निकटतम प्रतिद्धन्द्धी)को मात्र जमानत जोगिएको छ। कुल ३५ हजार ३८१ सदर मत खसेको प्रदेश (ख)मा जमानत जोगाउन कम्तीमा तीन हजार ५३९ मत आवश्यक थियो। 


 

प्रकाशित मिति: : 2022-11-28 21:40:00

प्रतिकृया दिनुहोस्