पुलमा सिण्डिकेटः डोल्पालाई रोक, रुकुमलाई खुला

जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्नुबगरमा राखिएको होमपाइपको पुल तर्न पनि सिण्डिकेट गरिएको छ। सडक डिभिजन चौहरजहारीसँग समन्वय गरेरै नेपालगञ्जदेखि सिधा विकास निर्माण सामाग्री ढुवानी गर्न बनाइएको उक्त पुलमा डोल्पा आउने सवारी साधन आवागमन गर्न रोक लगाइएको हो।

तर, रुकुम (पश्चिम)को गोतामकोटकोट गाउँ जोड्ने बाटो कालोपत्रेका लागि स्थानीय ठेकेदार सन्देश केसीलाई निर्माण सामग्री ढुवानी गर्न भने दिइएको छ।

रुकुम र जाजरकोटका स्थानीय कामदार र जग्गाधनीले नेपालगञ्ज, दाङ, काठमाडाैँ, सुर्खेतबाट सिधै आउने मालवाहक गाडीलाई तल्नुबगरमा राखिएको होमपाइपको पुलबाट गाडी पास गर्न नदिएको डोल्पाका ढुवानी व्यवसायी खिमबहादुर सिंहले जानकारी दिए।

स्थानीय ठेकेदारका मात्र मालवाहक गाडीलाई पुल पार गर्न दिने, डोल्पा आउने गाडीलाई नदिने गर्दा डोल्पाली उपभोक्ता महंगीको मारमा परेको उनले बताए।

गाडी रोक्दा डोल्पामा सामान महंगो

तल्नुबगरमा स्थानीय कामदार र जग्गाधनीने मालवाहक गाडीलाई पुल तर्न नदिएपछि डोल्पामा दैनिक उपभोग्य सामान महंगिएको छ। नेपालगञ्ज र दाङदेखि सिधै १० रुपैयाँ प्रतिकिलाेमा आइपुग्ने सामान अहिले १२ देखि १८ रुपैयाँसम्म सर्वसाधारण तिर्न बाध्य भएका छन्।

तल्नुबगरमा स्थानीय कामदारले अवरोध गरेपछि एउटा ट्रकमा मात्र सामान लोड अनलोड गर्न पर्दा डोल्पाली उपभोक्ताहरुले किन्ने सामानमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्य जोडिने अर्का व्यापारी हेमन्त खत्रीले बताए।


५५ लाख पेश्की लिएको दश महिना बित्दा पनि सुरु भएन दुनै-ल्यासीक्याप सडकको काम


स्थानीय जग्गाधनी र कामदारको माग के छ ? तीनै जिल्लाका जनप्रतिनिधि र प्रहरी प्रशासनले जतिसक्दो छिटो छलफलबाट समाधान गर्नुपर्ने उनको भनाइ छ।

अहिले नेपालगञ्जबाट सिधै सामान ल्याउँदा तल्नुबगरमा झारेर पुन: पारीपट्टी अर्को गाडीमा हालेर सामान डोल्पा पठाउनपर्ने व्यावारीलाई बाध्यता छ।

तल्नुका स्थानीयको अवरोध हटेपछि नेपालगञ्ज र दाङ लगायतका विभिन्न जिल्लाबाट सिधै मालबाहक गाडी डोल्पा पुग्ने र छिटो छरितो, सस्तो मूल्यमा, टुटफुट नभएर सामान पुग्ने डोल्पाका व्यापारीको भनाइ छ।

अवरोध भए प्रशासन लाउँछौः रुकुम (पश्चिम) र जाजरकोटका सिडियो

सरकारीस्तरबाट सहयोग समन्वयमा बनाइएको होम पाइपको पुलमा सवारी साधन आवतजावत गर्न स्थानीय कामदार र जग्गाधनीले अवरोध गर्न नहुने रुकुम (पश्चिम) र जारकोटका प्रमुख जिल्ला अधिकारीले बताए।

रुकुम (पश्चिम)का प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले सार्वजानिक पुलमा अवरोध गर्न नहुने बताए। डोल्पासम्म पुग्ने सवारी साधन आवतजावत गर्न जसले रोक्छ त्यसलाई कारवाही गरिने उनकाे भनाइ छ।


अन्धकारमा डोल्पा अस्पताल, मोबाइल बालेर उपचार गर्छन् चिकित्सक


‘रुकुम (पश्चिम)को हकमा पुल तर्न नदिने व्यक्ति वा समूहको नाम दिए कारबाही गर्छौँ, यसअघि होमपाइप राख्दा पनि स्थानीयबाट अवरोध भएको थियो तर प्रशासनको समन्यमा राखिएको हो,’ घिमिरेले भने,‘हामीलाई केही थाहा छैन, मालवाहक सवारी साधनलाई स्थानीयले रोक्न पाइदैन, त्यस्तो गरेको पाइमा त्यहाँ भएको प्रहरी चौकीलाई निर्देशन दिएर समात्न लगाउँछौ।’

पुल तरेबाफत पैसा दिने लिने दुबैलाई कारवाही गर्ने उनको भनाइ छ।

त्यस्तै जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले तल्नुबगरमा मालवाहक सवारी साधन आवतजावत गर्न कुनै समस्या नभएको बताए। स्थानीयबासीले पुलमा अवरोध गर्न नहुने र गरेमा कारावाही गरिने उनको भनाइ छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले रुकुम र जाजरकोटका प्रशासनसँग समन्वय गरेर तत्काल सिधा मालवाहक सवारी साधन आउने वातावरण बनाउनले बताए।


रकम बुझेर ठेकेदार फरार, आयोजना अलपत्र [भिडियाेसहित]


रुकुम (पश्चिम) र जाजरकोटका प्रमुख जिल्ला अधिकारीसँग यस विषयमा समन्वय भइरहेको समेत उनले जानकारी दिए।

पैसा असुलको माग गर्दै वडामा निवेदन

ढुवानी सेवा प्रदायक सवारीधनीले सामान बोकेको पैसा नदिँदा पुल अवरुद्ध गरेको स्थानीय कामदारले बताएका छन्।

पैसा असुलको माग गर्दै ५३ जना कामदारले आठबिसकोट नगरपालिका– १२ नम्बर वडा कार्यालयमा निवेदनसमेत दिएका छन्।

नेपालगञ्जदेखि डोल्पा सिधा सामान ढुवानी गर्ने उद्देश्यले होमपाइप राख्दा स्थानीय हेमन्त बिष्टले ८ लाख रुपैयाँ नपाएको भन्दै रकम असुलका लागि वडामा निवेदन दिएको वडा सचिव रामप्रसाद शर्माले जानकारी दिए।

पैसा नदिने पक्ष उपस्थित नभएका कारण आज छलफल हुन नसकेको उनको भनाइ छ।

‘स्थानीय कामदार मात्र नभई जग्गाधनीले पनि अवरोध गरेको बुझिएको छ, जग्गाधनीले केही महिनाका लागि मात्र चल्ने गरी डिटेल सर्वे विनाको व्यक्तिगत जग्गमा बाटो परेको भन्दै गुनासो गरेका छन,’ उनले भने।

जग्गाधनीले सवारी साधन तारे बाफत पैसा दिनुपर्ने माग राखेको समेत बताइएको छ।

प्रकाशित मिति: : 2023-01-05 21:50:00

प्रतिकृया दिनुहोस्