बैंकको ऋण तिर्न नसकेको भन्दै विराटनगरका व्यापारीले गरे आत्महत्या

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको निधन भएको एक दिन नबित्दै विराटनगरमा एक व्यवसायीले आत्महत्या गरेको छन्।

आर्थिक भार खेप्न नसकेको जनाउँदै विराटनगर महानगरपालिका ३ पोखरियाका ५७ वर्षीय मोहन न्यौपानेले बुधबार घरमै आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार न्यौपानेलाई बुधबार आफ्नै घरमा झुण्डिएकाे अवस्थामा फेला पारिएको हो। उनले इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए। मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षसमेत न्यौपाने श्रीमतीसहित एक छोरा र एक छोरीसँग आफ्नै घरमा बस्दै आएका थिए।

न्यौपानेले आत्महत्या गर्नुअघि एउटा डायरीमा तीन पानाको सुसाइट नोट लेखेका छन्। आर्थिक भारका कारण आफूले मृत्युवरण गर्नुपरेको उनले उक्त नोटमा उल्लेख गरेका छन्।

बुबाआमासहित परिवारलाई सम्बोधन गर्दै लेखेको सुसाइट नोटमा उनले बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको र आफू बाँच्न लायक नभएको उल्लेख गरेका छन्।

न्यैपानेले उक्त सुसाइट नोटमा व्यवसायिक प्रयोजनको लागि विभिन्न बैंक तथा वित्तिय संस्था र व्यक्तिहरुसँग लिएको रकम पनि उल्लेख गरेका छन्।

व्यवसायका लागि सांग्रिला बैंकबाट १ करोड ४५ लाख ऋण लिएको र बैंकको किस्ता ५ लाख गरी १ करोड ५० लाखको आर्थिक भार रहेको सुसाइड नोटमा उल्लेख छ। न्यौपानेले अर्को दुई सहकारीमा १० लाख ऋण भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2023-01-26 11:59:00

प्रतिकृया दिनुहोस्