गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका युवा व्यवसायी डिला खरेलले आफूले संघको नेतृत्व हासिल गरेमा काठमाडौँ उपत्यकाभित्र उपयुक्त स्थानमा अष्ट्रेलिया पार्क बनाउने घोषणा गरेका छन्।
नेपाली युवा, विद्यार्थीहरुको आकर्षक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियाको बारेमा जानकारी दिने उद्देश्यले काठमाडौं उपत्यकामा स्थानीय तहसँग मिलेर यस्तो पार्क बनाउने योजना खरेलले सार्वजनिक गरेका हुन्।
रेमिटेन्स र पर्यटनबाट नेपालको अर्थतन्त्र चलिरहेको विषयबारे आफू जानकार रहेको बताउँदै नेपाल सरकारसँग एनआरएनए अष्ट्रेलियाले ‘टाइ-अप’ गरेर काम गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
नेपाल सरकार, अष्ट्रेलियन दूतावास तथा अन्य मन मिल्ने सङ्घसंस्थाहरूसँगको सहकार्यमा काठमाडाैँ उपत्यकाभित्र एउटा अष्ट्रेलिया पार्क निर्माण गर्ने र दुई देशबीचको सम्बन्धको स्मारकको रुपमा उक्त पार्कले अष्ट्रेलियाको जनजीवन दर्शाउने उनले बताए।
उनले भने, ‘एनआरएनए-एनसीसी अष्ट्रेलियाको सन् २०२३–२०२५ अवधिका निम्ति अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। यदि निर्वाचित भएँ भने एनसीसी अष्ट्रेलियाका साथीहरूसँग मिलेर अष्ट्रेलियामा नेपाली विद्यार्थीका लागिः नेपाली विद्यार्थीहरूको पढाइलाई सहयोगी हुने एक हाते पुस्तक प्रकाशन गर्नेछौँ, जसले उहांहरूलाई कामको खोजी तथा अष्ट्रेलियाको जीवनशैली तथा अवसरबारे पनि ज्ञान दिनेछ। रोजगारी, व्यक्तिगत तथा पेशागत विकास जस्ता विषयहरूमा पनि एनसीसी अष्ट्रेलियाले प्रशिक्षण दिनेछ।’
यसैगरी नेपाली युवाहरूलाई उद्यमशील बन्न मद्दत गर्न ‘युवाका निम्ति एक कोष’ कार्यक्रम ल्याउने र ‘आइडिया ब्याङ्किङ’ को अवधारणा अघि बढाउने योजना पनि उनले सुनाए। उनले भने, ‘एनसीसी अष्ट्रेलियाले एक लाख अष्ट्रेलियन डलरको कोष सङ्कलन गर्नेछ। वित्तीय तथा व्यवस्थापन क्षेत्रका अनुभवी व्यक्तित्वहरू सामेल भएको एक टोलीले छानिएका उद्यमीहरूका निम्ति कानुनी, लेखासम्बन्धी तथा अन्य आवश्यक परामर्श दिनेछ। साथै ‘युवाका निम्ति एक कोष’ मार्फत प्रारम्भिक पुँजी सहयोग पनि उपलब्ध गराउने छौं।’
उम्मेदवार खरेलले अष्ट्रेलियामा आफ्नो परिवार भेट्न आएका अभिभावकहरूको निःशुल्क स्वास्थ्य जाँच सेवा आयोजना गर्ने पनि बताए।
‘नेपाली डाक्टर, खेलाडी, कलाकार तथा अन्य प्रतिभाशाली व्यक्तित्वहरूको ब्यान्डिङ् गरेर उहाँहरूलाई अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा परिचित गराइनेछ। अष्ट्रेलियामा बसिरहेका नेपालीहरू कानुन मान्ने, कर तिर्ने, इमानदार, लगनशील तथा व्यवसायिक समुदायका सदस्य हुन् भन्ने व्यापक छवि निर्माण गरिनेछ। अष्ट्रेलियामा विभिन्न क्षेत्रमा सफल नेपाली व्यक्तित्वहरूको सूची बनाएर उहाँहरूको प्रतिभा, विज्ञता एवं सञ्जालको उपयोग नेपाल तथा नेपाली समुदायको हितका निम्ति गर्न प्रोत्साहन गर्ने छु’, खरेलले भने।
नागरिकता ऐन कार्यान्वयनमा आएपछि पनि अझै यसमा समस्या रहेको स्वीकार गर्दै खरेलले नेपाली नागरिकताको निरन्तरताक लागि आफूले थप पहल गर्ने पनि बताए।