समाजवादी मोर्चाको अँध्यारोमा अलमलिएर उत्तेजित भएका प्रचण्ड

‘समाजवादी सन्देश’ भन्न सुर्खेत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेतमा कुरिबसेका कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै भने- बर्खापछि लाखौँ मान्छे सडकमा ओराल्छौँ…।’

अर्काेदिन उनका एकजना मोर्चा सहयात्री विप्लवले एमसीसीविरुद्ध आन्दोलन घोषणा गरिदिए।

‘लाखौँ मान्छे सडकमा ओराल्ने’ शब्द प्रधानमन्त्रीका थिएनन्, ती नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका थिए। अनि सरकारले कार्यान्वयनमा लैजाने भनेर एमसीसीसँग यता हात मिलाइरहँदा त्यसकै विरुद्ध आन्दोलन घोषणा गर्ने नेत्रविक्रम चन्द विप्लव प्रचण्डले नै घुमाइरहेको ‘समाजवादी मोर्चा’का एक सहयात्री थिए।

कुनैबेला जंगलमा उनी युद्धका सहयोद्ध भए। प्रचण्डले त्यो जनयुद्धलाई संसदीय यात्रामा मोड्दै गर्दा विप्लव फेरि उनका ‘जानी-दुश्मन’ भए। यो प्रचण्ड भाषाको अन्तिम इनिङको सत्तायात्रामा विप्लव फेरि उनका सहयात्री भइरहेका छन्।

प्रधानमन्त्री र उग्र प्रचण्ड

सरकारमा पुष्पकमल दाहाल ‘प्रधानमन्त्री’ हुन्। तर जब उनी मोर्चामा छिर्छन् अनि ‘प्रचण्ड’ बनेर माओवादी अध्यक्षमात्रै भइदिन्छन्।

सात प्रदेशमा ‘सन्देश’ छरिरहेका उनले समाजवादका परिभाषा होइन, फेरि कार्यकर्ताको भीडमा उत्तेजनामात्रै फैलाइरहेका छन्। जहाँ विप्लव, माधव नेपाल अनि उपेन्द्र यादवका केही कार्यकर्ताहरू पनि मिसिएका छन्।

सत्ता साझेदार गरिरहेको नेपाली काँग्रेस र प्रतिपक्ष बनेको नेकपा एमालेलाई तर्साउनका लागि प्रचण्डले डिजाइन गरेको यो समाजवादी मोर्चा एउटा त्यस्तो हतियार बन्दैछ, जसले काँग्रेस अनि एमालेहरूलाई ‘सोच्ने’ मौका पनि दिइरहेको छ।

त्यसैको परिणाम हो, प्रचण्ड उवाचमा आइरहने ‘मलाई ढाल्ने षड्यन्त्र भइरहेको छ…।’

सुर्खेतको सभामा पनि उनले भनिदिएका थिए, ‘सरकार के हुन्छ, मलाई केही टेन्सन छैन। मैले जे गरिरहेको छु, त्यो गर्न छोड्दिनँ।’

उत्तेजनाको सिमानामा उभिएर अझ उनले अघि भनिदिए, ‘भ्रष्टाचारविरुद्धको यो अभियानमा माओवादीका जुनसुकै नेतामात्रै किन, मेरै नाम आए पनि म रोकिन्नँ…।’

पाइलाहरू मेट्दै गरेका प्रचण्डलाई यसो भन्न कुनै गाह्रो पनि छैन। किनकि आफ्नामात्रै होइन, उनीसँग सम्झौता गर्न आउनेहरूलाई बचाउँदै बचाउँदै उनले फाइलहरू खोलिरहेका छन्।

जनतामा छाएको निराशाबीच केही ‘ठूला’ मान्छे समाउँदा नागरिकले मनाउने उत्सवीय पर्दापछि प्रचण्डका यी हर्कतहरू सामfन्ने छैनन्। र, उनी भनिरहेछन्, ‘अब मलाई केही लिनु पनि छैन। केही दिनु पनि छैन। बस् ‘राम्रो’ काममात्रै गर्नुछ।’

बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको घोषणार्थ पत्र साटासाट हुँदै थियो। अर्थमन्त्री डा.प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अलफोर्डले ‘कार्यान्वयनपत्र’ साटासाट गरिरहँदा माइतीघरमा भने ‘एमसीसी मूर्दावाद’का नारा लागिरहेको थियो। त्यसका अगुवा थिए, उनै विप्लव। जो प्रचण्ड मोर्चामा सँगसँगै गाँसिएका छन्।

समाजवादी मोर्चा नेपालका चार घटकमध्ये नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि एक हुन्।

‘दरार’को यो सपाट चित्रलाई विप्लव र प्रचण्डहरू भने भनिरहेका छन् ‘सरकार र समाजवादी मोर्चा’ फरक हुन्। तर जसलाई प्रचण्डले सरकार जोगाउने अस्त्रका रुपमा नचाइरहेका छन्।

मोर्चाको यो अलमल बाटोमा प्रचण्ड यसरी धमिलिएका छन् कि अब ‘गर्नू र मर्नू’बाहेक उनका नजरसामुन्ने अर्थोक केही छैन।

यही भदौ १२ गते मगंलबार मात्रै रुपन्देहीको बुटवलमा आयोजित समाजवादी मोर्चा नेपालकाे सभामा एमसीसीबारे सबैले आ–आफ्नो धारणा व्यक्त गरे। एमसीसीका विषयमा प्रश्न उठाए। एमसीसीमाथि प्रश्न उठाउने एक प्रमुख व्यक्ति हुन्, विप्लव। उनले कुनै पनि हातलमा एमसीसी अमेरिकाले फिर्ता लैजानुपर्ने बताए।

विप्लव नेतृतवको नेकपासहित विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपासँग एमसीसीविरुद्ध मोर्चा नै खडा गरेर आन्दोलित छन्।

संसदीय व्यवस्था नमान्ने दल नेकपा र सरकारमा भएका दलहरूसंग विप्लव मोर्चामै छन्। तर, एमसीसी कार्यान्वयनपछि ‘मुलुकको संसदलाई देश बेच्ने अधिकार नभएको र संसदले पारित गरेको एमसीसी जनताले समेत स्वीकार नगरेको अवस्थामा कार्यान्वयन हुन नदिने’ समेत चेतावनी दिएका छन्।

संसदीय व्यवस्थालाई दलाल संसदीय व्यवस्थाको संज्ञा दिएका विप्लव समाजवादी मोर्चामार्फत् संसदीय राजनीतिमा आउन लागेको छरपस्ट तर्कहरु छ। पटकपटक सरकारलाई प्रश्न उठाउने विप्लवले एमसीसी विरुद्धको आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री र सरकारको खरो आलोचना गरे। सरकारले साच्चिकै विकास चाहे प्रधानमन्त्रीले एमसीसी खारेज गरेको घोषणा गर्नुपर्ने र सरकार जनताको पक्षमा उभिनुपर्ने बताएका थिए।

बुधबार बिहानै माओवादी केन्द्रका महासचिव देव गुरुङले सामाजिक सञ्जालमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्भौता संसदबाट अनुमोदन गरेकाे विषयलाई लिएर ध्यानाकषर्ण भएको तर्क गरिरहेका थिए। आफ्नै पार्टी अध्यक्षले एमसीसीको विषयमा गरेको निर्णयमा महासचिव सन्तुष्ट देखिँदैनन्।

विप्लव समूहका जनपरिषद् प्रमुख सन्तोष बुढाले समाजवादी मोर्चामा एमसीसीको विषयमा छलफल नभइ कार्यान्वयनमा ल्याएको बताएका छन्।

उनले एमसीसी र समाजवादी मोर्चा फरकफरक विषय रहेकाले स्वतन्त्र रुपमा जाने तर्क गर्छन्। ‘समाजवादी मोर्चा र सरकार अलगअलग विषय हो। एमसीसीबारे मोर्चामा बैठक नै गरेर कुनै निर्णय भएको भने छैन। फेरि एमसीसी र हाम्रो मोर्चाको मामिला पनि नै छुट्टै छ’, उनी भन्छन्, ‘समाजवादी मोर्चा एमसीसीको विषयमा विचार नमिलदैमा अलग हुँदैन। आ–आफ्नो स्वतन्त्रता छ। साझा मुद्दामा मिलेर पनि जानुपर्ने हुन्छ, नमिले आफ्नो ढङ्गले जान्छौँ।’

प्रचण्डले एमसीसी सदन र राष्ट्रको सम्पत्ति भइसकेको भन्दै विप्लवलाई जवाफ दिएका थिए। मोर्चामा एकताबद्ध रुपमा छलफलपछि निणर्य गर्ने बताएका प्रधानमन्त्री काठमाडौँ पुगेर एकल निर्णयमा एमसीसी कार्यान्वयनको बाटो खोलिदिए।

‘नेपालको राष्ट्रिय हितका लागि अनुदान लिएर केही गर्न सकिने, गडबड भए सडकमा आन्दोलनमा जाने उपाय के छ भनेर नै सदनबाट सर्वसममत रुपमा पारित गरिएको छ। अब सदनको सम्पत्ति बनेको छ, सिङ्गो राष्ट्रको सम्पत्ति बनेको छ। यसलाई कार्यान्वयन गर्न आफ्नो सिधाभाषामा राख्ने छु। त्यसपछि मोर्चामा सल्लाह गरेर के गर्ने हो, एकताबद्ध भएर जाँदा धेरै कुरा गर्न सकिन्छ,’ उनले भनेका थिए।

मोर्चाकै अर्को घटक नेकपा एकीकृत समाजवादी पनि त्यसको विरोधमा छ। जबकी यो पार्टीका मन्त्रीहरू पनि सरकारमा छन्।

समाजवादी मोर्चा घोषणापछि सबैभन्दा उत्साहित प्रचण्ड नै देखिन्छन्। र उत्तेजित पनि।

आन्दोलनको धम्की दिँदै प्रधानमन्त्री

सरकारी दलहरूको मोर्चामा रहेको एउटा घटक नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) समूहले एमसीसी परियोजनाका विरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

शुक्रबार बिहान बसेको पार्टीको स्थायी कमिटी बैठकले विचारगोष्ठी तथा छलफल र अन्तर्क्रियादेखि मार्चपाससम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

भदौ १३ देखि एमसीसीका परियोजना कार्यान्वयनको चरणमा जाँदै गर्दा विप्लवको यो समूहले त्यसको विरोध गर्दै आएका थियो। यहीबीचमा ठाउँठाउँमा भइरहेका समाजवादी मोर्चाको ‘सन्देश सभा’मा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै अघि विप्लवले आन्दोलनको चेतावनी दिइरहेका थिए।

प्रधानमन्त्री प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्र, माधव नेपालको एकीकृत समाजवादी पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी र विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी यो मोर्चमा सहभागी छन्।

सरकारकै नेतृत्व गरिरहेका मोर्चाका एक घटक नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रचण्डकै सहमतिमा विप्लवले आन्दोलनहरू घोषणा गरेका हुन्।

बिहीबारमात्रै सुर्खेतमा प्रधानमन्त्री प्रचण्डले केही दिनमा वर्षा सकिएपछि लाखौँ जनता सडकमा उतार्ने भन्दै भाषण गरेका थिए। त्यसको भोलिपल्टै उनकै मोर्चाको एक घटकले आन्दोलनको घोषणा गरेको हो। स्थायी समितिबाट आन्दोलन गर्ने निर्णय गरेर विप्लव त्यस्तै अर्को सन्देश सभामा भाग लिन पोखरा हिँडेका छन्।


कसले ढाल्न खोज्दैछ प्रचण्ड सरकार?


विप्लव समूहले काठमाडौँको लप्सिफेदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसीविरद्ध संयुक्त गोष्ठी गर्ने निर्णय गरेको छ। यी ठाउँहरूमा एमसीसीका परियोजनाहरू बन्दैछन्।

त्यस्तै असोज १ गतेदेखि देशव्यापी मार्चपास र सांस्कृतिक कार्यक्रममार्फत उसले विरोधका कार्यक्रमहरू अघि बढाउने निर्णय पनि गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका स्थायी कमिटी सदस्य कर्णजित बुढाथोकीले सरकार र मोर्चा फरक कुरा भएको बताए।

‘यो समाजवादी बाटो तय गरेका पार्टीहरूको मोर्चा हो। यहाँ भएकाहरू सरकारमा हुन पनि सक्छन्, नहुन् पनि सक्छन्। सरकारको कुरा फरक हो। हाम्रो मोर्चा फरक हो’, उनले भने, ‘हामीले प्रधानमन्त्रीलाई पनि यो कुरा भनिसकेका छौँ। उहाँले सरकारका तर्फबाट के बोल्नुहुन्छ भन्ने फरक कुरा हो।’

उनले प्रधानमन्त्री प्रचण्डले पनि एमसीसीको सवालमा विप्लव समूहलाई कुनै अवरोध नगर्ने बताएका थिए।

‘शान्तिपूर्ण रुपमा हाम्रो पनि विरोधै रहन्छ। फेरि यो सरकारको कुरा हो। तपाईंहरू पनि आफ्नै रुपमा लाग्नुस् भन्नुभएको छ’, उनले भने, ‘हाम्रो पनि शान्तिपूर्ण आन्दोलन नै हो। यो हिंसात्मक हुँदैन।’

उनले एमसीसीको विषयमा पहिला नै सरकार र संसदले निर्णय गरिसकेको भन्दै अहिले त्यसको कुनै साइनो नरहेको पनि बताए।

प्रकाशित मिति: : 2023-09-01 22:00:00

प्रतिकृया दिनुहोस्