प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायली भूमिमा गरेको आक्रमणमा नेपाली पनि घाइते भएका छन्।
शनिबार बिहान हमासले इजरायलतर्फ हजारौँ रकेट आक्रमण गरेको थियो। आक्रमणपछि सुरक्षाका लागि बङ्करमा छिरेका समूहमाथि बन्दुकधारीले आक्रमण गरेका थिए।
त्यही बंकरमा रहेका कम्तीमा ९ जना नेपाली घाइते भएको अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दीपकप्रसाद वलीले जानकारी दिएका छन्। उनी आफैँले त्यहाँ रहेका नेपालीसँग सम्पर्क गरेका थिए।
उनका अनुसार ती नेपाली फायर वेस्टर्न युनिर्भसिटीमा कृषि विषय अध्ययन गर्न इजरायल पुगेका हुन्।
रकेट आक्रमणसँगै सुरक्षा साइरन बजेपछि नेपाली विद्यार्थी बंकरमा छिरेका थिए।
‘घाइते भएका केही विद्यार्थीसँग भर्खरै मेरो सम्पर्क भएको थियो। उहाँहरू निकै आत्तिनुभएको थियो। सबै कुरा अझै आएको छैन। ७ ९ जना विद्यार्थी घाइते भएको भन्ने छ। हामी दूतावाससँग समन्वय गरिरहेका छौँ,’ उनले भने।
वली एनआरएनए इजरायलका पूर्व अध्यक्षसमेत हुन्।
घाइते भएका विद्यार्थीहरू एक वर्षअघि कृषि विषय अध्ययनका लागि पुगेका थिए। केही विद्यार्थीको अवस्था गम्भीर हुनसक्ने पनि वलीले बताएका छन्।
नेपालीहरूका बारेमा तेल अवस्थित नेपाली दूतावासले आधिकारिक जानकारी दिएको छैन। तर उसले नेपालीलाई सम्पर्कमा आउन अपील भने गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपाली समुदायलाई स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्न र आफू पनि सुरक्षित रहन अपिल गरेको छ।
यस्तो छ दूतावासको अपिल-
इजरायलको गाजा क्षेत्रको सिमानालगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सवैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।
साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरुको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको व्यहोरा अनुरोध छ।
पुनश्चः अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित नबनाउनुहोला।