तनहुँको थर्पुमा निःशुल्क भिडियो एक्सरे सेवा

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ। गाउँपालिकाको सहयोगमा आजदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुुरु भएको हो।

अब भिडियो एक्सरे सेवाका लागि म्याग्देलगायत आसपासका भेगका महिला दमौली वा पोखरा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन्। भिडियो एक्सरे सेवा थालिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, 'स्वास्थ्य सेवा विस्तार गर्ने योजनाअनुरुप भिडियो एक्सरे सेवा शुभारम्भ गरेका हौँ। गाउँपालिकाले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ।'

गाउँपालिकाले आजै स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो। पहिलो दिन आज दश जना गर्भवतीलाई सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिएका छन्। गर्भवतीले अब भिडियो एक्सरे सेवा लिन महँगो रकम खर्चिएर अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताएका छन्। 

प्रकाशित मिति: : 2023-10-10 20:49:00

प्रतिकृया दिनुहोस्