प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वाेच्च अदालतका तीन न्यायाधीशले रिगल भनिने याेगराज ढकालविरुद्धकाे मुद्दा नहेर्ने भएका छन्।
प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बिहीबार रिगल जोडिएको मुद्दा हेर्न नमिल्ने आदेश गरेकाे छ। यसअघि पनि यस्तै प्रकारका मुद्दामा आदेश दिइसकेकाले उस्तै प्रकृतिको अर्को मुद्दा हेर्न नमिल्ने न्यायाधीशहरूले सुनाएका छन्।
याे सँगै आज (बिहीबार)काे लागि ताेकिएकाे रिगलविरुद्धकाे मुद्दाकाे सुनुवाइ अब दसैँपछि हुने भएकाे छ। आजकाे पूर्ण इजलासले अर्को पेशी कात्तिक १४ गते तोकेको छ।
नेपाली कांग्रेसका कार्यकर्तासमेत रहेका रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतन मानन्धरको हत्या गरेका थिए।
त्यसपश्चत कैद सजाय भुक्तानी गरिरहेका रिगललाई सरकारले संविधान दिवसकाे अवसरमा आममाफी दिएकाे थियाे। रिगल रिहा भएपछि रिगलद्वारा हत्या गरिएका चेतन मानन्धरकी पत्नीले कैद माफी मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेल र सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।