यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु

सर्वाधिक भीड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनामा बिहीबारदेखि अनलाइन सेवा सुरु भएको छ।

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। बिहीबारदेखि राजश्व भुक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने व्यवस्था मिलाइएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइन सेवा सुरु गरेका हुन्।

दैनिक हजारौँ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए। ‘आजदेखि त्यो लाइन पूर्णरुपमा हट्नेछ’, मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ।’

सवारी चालक अनुमति पत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीन पटक मात्र यातायात व्यवस्था कार्यालय पुगे हुने बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री लम्सालले बताए।

‘सवारी चालक अनुमति पत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ’, प्रदेशका यातायातमन्त्री लम्सालले भने, ‘यसअघि एउटै लाइसेन्सका लागि ९ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो।’

प्रकाशित मिति: : 2023-10-12 20:34:00

प्रतिकृया दिनुहोस्