‘केही बनेको छ भन्ने सोच राख्न आवश्यक’

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताएका छन्।

बडादसैँ, दीपावली र छठपर्वको उपलक्ष्यमा नेकपा (एमाले) झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित शुभकामना आदान–प्रदानका अवसरमा उनले भने, ‘विकासका हिसाबले देश धेरै बनाउन बाँकी छ, देश लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै बनाउने हो। आलोचना गर्दै साथ लिँदै हिँड्ने हो, यो देश बन्छ, बनाउन सकिन्छ। देश केही बनेको छैन भन्ने होइन, देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक छ।’

उनले नेपाल सतिको श्राप परेको नभइ भगवान् गौतमबुद्धको आशीर्वाद परेको देश भएकाले विकास पथमा लैजान सकिने थ्रुप्रै सम्भावना रहेको बताएका छन्। विगतमा देशमा भएका राम्रा र नराम्रा दुवै पक्षको साझा जिम्मेवारी नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतले लिनुपर्नेमा जोड दिँदै उनले पुरानाको दिन गए भन्दै गर्दा धर्मशास्त्र र धर्ती पुरानै हुन् भन्ने पक्षलाई ख्याल गरी आफ्नो उपस्थितिमा नयाँ ऊर्जा र नयाँ संस्कृति देखाउन सक्नुपर्ने भनाइ व्यक्त गरेका हुन्।

मुलुकको राजनीति बदल्ने अठोट र सङ्कल्प गरेमा सबैभन्दा ठूलो योगदान झापालीले गर्न सक्ने बताउँदै उनले खेलकुददेखि जेलसम्ममा झापालीको बलियो उपस्थिति रहेकाले चतुर्याइँ मात्रै होइन, वैचारिक, संयमता र परिपक्वता प्रस्तुत गर्न सक्नुपर्नेमा जोड दिएका छन्।

नेपाली नागरिक महत्वपूर्ण पर्व दसैँ पर्खिरहेका बेला विदेशी भूमिमा ज्यान गुमाएका आफन्तको लास कुरिरहेको अवस्था रहेको घटना सुनाउँदै महामन्त्री शर्माले भने, ‘नेपाली कुनै पनि द्वन्द्वमा नपरुन्, धरानको जस्तो परिघटना नभइदिओस्, मलङ्गवा नदोहोरियोस्, नेपालगन्जले सदभावको सहरको पहिचान कायम राखोस्।’

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले मुलुक परिवर्तनका बाहक वामपन्थी र लोकतन्त्रवादी शक्ति परिवर्तन हुन नसकेकाले सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि स्थापित गरेर अघि बढ्न अनेकखाले चुनौती खडा भएको धारणा राखेका छन्।

प्रकाशित मिति: : 2023-10-14 19:31:00

प्रतिकृया दिनुहोस्