गाजापट्टीमा पानीकाे हाहाकार

इजरायली सेनाले पानीको आपूर्ति कटौती गरेपछि गाजापट्टीका प्यालेस्टाइनहरूका लागि पानी ‘जीवन र मृत्युको विषय’ बनेको अधिकारीहरूले जनाएका छन्।

‘पानी जीवन र मृत्युको विषय बनेको छ। २० लाख मानिसहरूका लागि पानी उपलब्ध गराउन आवश्यक छ,’ यूएनआरडब्लुएका अधिकारी फिलिप शनिबार लाजारिनीले भने।

गाजामा हप्ता दिनदेखि कुनैपनि मानवीय सामग्री पठाउन सकिएकाे छैन। गाजापट्टीको पानी प्रशोधन केन्द्रले काम गर्न छोडेपछि स्वच्छ पानी सकिँदैछ। मिडिया स्राेतकाअनुसार प्यालेस्टिनीहरू अहिले इनारको फोहोर पानी प्रयोग गर्न बाध्य छन्, जसले गर्दा पानीजन्य रोगहरूको जोखिम बढेको छ।

इजरायलले पनि बुधबारदेखि गाजामा बिजुली आपूर्ति बन्द गरेको छ, जसले गर्दा पानी आपूर्ति प्रभावित भएको छ। इजरायलले उत्तरी गाजाबाट हवाई आक्रमण गर्न आदेश दिएपछि हजारौँ मानिसहरू गाजाबाट बाहिरिएका छन्। अहिलेसम्म करिब १० लाख मानिस विस्थापित भएका छन्।

‘गाजामा इन्धन ढुवानी गर्न आवश्यक छ। मानिसहरूलाई सुरक्षित पिउने पानीको लागि इन्धन एकमात्र तरिका हो। यदि त्यसो गरिएन भने साना बच्चाहरू, वृद्धहरू र महिलाहरू गम्भीर निर्जलीकरणको कारण मर्न थाल्नेछन्। पानी अब अन्तिम बाँकी जीवनरेखा हो,’ यूएनआरडब्लुएले भन्याे।

गत शनिबार प्यालेस्टाइनी सशस्त्र समूह हमासले इजरायलमाथि आश्चर्यजनक आक्रमण गरेको थियो, जसमा कम्तीमा १ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ। त्यसपछि इजरायलले गाजामा आक्रमण गर्न थाल्यो र हजारौँ बम खसाल्यो, जसमा कम्तीमा २ हजार २ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ।

यूएनआरडब्लुएले गाजास्थित आश्रयस्थलहरू सुरक्षित नरहेको जनाएकाे छ। 'युद्धका नियमहरू हुन्छन्– नागरिक, अस्पताल, विद्यालय, क्लिनिक र संयुक्त राष्ट्रसंघ परिसर निशाना बन्न सक्दैनन्। यूएनआरडब्लुएले द्वन्द्वका पक्षहरूसँग वकालत गर्न कुनै कसर बाँकी राखेको छैन,' यूएनआरडब्ल्यूए भन्याे।

प्रकाशित मिति: : 2023-10-15 10:54:00

प्रतिकृया दिनुहोस्