घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ

फाइल तस्बिर
फाइल तस्बिर

सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन्।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो। भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताएका छन्। 

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिएका छन्। उनीहरुलाई मङ्गलबार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा पठाइने उनको भनाइ छ। 

प्रकाशित मिति: : 2023-10-16 22:42:00

प्रतिकृया दिनुहोस्