चाडपर्वमा सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनुपर्छ: महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थापनलाई मजबुद बनाउनुपर्ने बताएका छन्। 

चाडपर्वमा आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै  रक्षा व्यवस्थापनलाईथप मजबुद बनाउनुपर्ने उनले बताए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिदैं उनले सो कुरा गरेका हुन्। 

प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे। 

कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिए। 

बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने उनले उल्लेख गरे। 

नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उनले जोड दिए।

चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

संगठनको आन्तरिक सुदृढीकरण तथा शुद्धीकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिदैँ कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताए।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2023-10-18 21:20:00

प्रतिकृया दिनुहोस्