धार्मिक पर्यटक प्रवर्द्धनका लागि गुम्बा निर्माण गरिदैं

फाइल तस्बिर
फाइल तस्बिर

इलाम नगरपालिका–६ पानीट्याङ्कीमा गुम्बा निर्माण गर्न थालिएको छ।

धार्मिक पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले गुम्बा निर्माण गर्न लागिएको हो।

एक रोपनी क्षेत्रफलमा रु डेढ करोड लागतमा गुम्बा निर्माण हुने निर्माण समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए। 

उनका अनुसार गुम्बासहित आवाससमेत निर्माण गरिनेछ। गुम्बामा धार्मिक पाठशालासमेत रहनेछ। साथै यस गुम्बाले धार्मिक पर्यटक भित्र्याउन मद्दत गर्ने अपेक्षा लिइएको छ।

गुम्बा निर्माणका लागि सन्दकपुर गाउँपालिका–२ का धनबहादुर गुरुङले एक रोपनी जमिन निःशुल्क उपलब्ध गराएका हुन्। साथै उनले नगद रु तीन लाख रकम निर्माण कार्यका लागि सहयोग गर्नुभएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए।

न्युपिङ थार्पाछ्योलिङ गुम्बा निर्माणका लागि हाल धमाधम काम भइरहेको छ। यसका लागि स्थानीयहरु श्रमदानमा समेत जुटेका छन्।

बिदाको दिन करिब एक सय माथिको सङ्ख्यामा स्थानीय श्रमदानमा आउने जनाइएको छ।

गुम्बाको भवन निर्माणकै लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत २५ लाख रकम प्राप्त भएको जनाइएको छ। साथै विभिन्न व्यक्तिहरुबाट समेत २० लाख माथि रकम सङ्कलन भइसकेको छ। 

तीन वर्षसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको यस गुम्बा निर्माणले चियाबारी घुम्न आएका पर्यटकहरुलाई नयाँ आकर्षण थप्ने विश्वास लिइएको छ।

गुम्बासँगै भगवान् बुद्धको प्रतिमा समेत स्थापना गरिनेछ। चियाबारी नजिकै भ्यू टावर छेउमा निर्माण भइरहेको गुम्बामा सहयोगीहरु थपिने क्रम जारी रहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-10-21 13:16:00

प्रतिकृया दिनुहोस्