आश्विन शुक्ल द्वादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ।
विजयादशमीका दिन नौ दिनसम्म पूजाआराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजन कहाँ जान प्रभावित भएकाहरु आज भने राजधानीमा आकाश खुलेकाले बिहानदेखि हिँड्न थालेका छन्।
विजयादशमीका दिन बुधबार दिउँसो केही समय वर्षा रोकिए पनि बेलुकीदेखि निरन्तर वर्षा भएपछि टाढा टाढा आफन्त कहाँ नवदुर्गाको प्रसादस्वरुप टीका,जमरा र आशीर्वाद लिन जानेहरु प्रभावित भएका थिए। दुई दिनसम्म हिँड्न नपाएका राजधानीवासीहरुको आज भने आकाश खुलेसँगै बिहानैदेखि चहपहल देखिएको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा भएको जनाएको छ।
महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवं बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएका छन्।
राजधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ। त्यस क्षेत्रका मानिसलाई भने अझै दुर्गाको प्रसाद लगाउन र आशीर्वाद थाप्न असहज हुने देखिएको छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताए । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि भने केही चहलपहल देखिन थालेको छ।