राष्ट्रपतिबाट आममाफी पाएका रामचन्द्र ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

File Photo
File Photo

अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षका रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो। उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ।

थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो। अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए।

प्रकाशित मिति: : 2023-11-01 16:32:00

प्रतिकृया दिनुहोस्