गण्डकी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो चिकित्सक र स्वास्थ्य सामग्री

File Photo
File Photo

गण्डकी प्रदेश सरकारले गएरातिको भूकम्पबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ। 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक अपिल जारी गरी प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने उद्देश्यले चिकित्सकसहितको टोली त्यसतर्फ पठाइएको जानकारी दिए।

सरकारले प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी का साथै उपचार सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो। स्थलमार्ग हुँदै जाने टोली आइतबार बिहान रुकुम पुग्ने र भूकम्पबाट घाइतेको उपचारमा खटिने छन्।

अपिलमा मुख्यमन्त्री पाण्डेले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको उल्लेख गर्नुभएको छ।

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न सङ्घसंस्था तथा नागरिक समाजलगायत सम्बन्धित सबैलाई प्रदेश सरकार अपिल गर्दछौँ’, अपिलमा भनिएको छ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारकोतर्फबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनःनिर्माणलगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन्।

गएराति जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ।

प्रकाशित मिति: : 2023-11-04 12:39:00

प्रतिकृया दिनुहोस्