भूकम्पबाट घाइते भएका २७ जनाको भेरी अस्पतालमा उपचार हुँदै, एक जनाको मृत्यु

भूकम्पमा परी घाइते भएका २७ जनाको बाँकेस्थित भेरी अस्पतालमा उपचार सुरु भएको छ। जाजरकोट, रुकुमपश्चिम र सल्यानबाट ल्याइएका २७ जनाको उपचार सुरु भएको अस्पतालका अध्यक्ष बिरेन्द्रबहादुर शाहले जानकारी दिए।

भेरी अस्पताललाई भूकम्पबाट घाइते भएकाको उपचार गर्ने गरी सरकारले तोकेको छ। सोहीअनुसार जाजरकोट र रुकुमपश्चिममा उपचार हुन नसकेका घाइतेलाई बाँकेसम्म ल्याएर उपचार गरिँदैछ। जसमा बालबालिका पनि छन्। बिरामीलाई हेलिकप्टर र एम्बुलेन्सबाट पनि ल्याइएको छ।

हाल उपचाररतमा जाजरकोटको भेरी नगरपालिका २ का ४८ वर्षीय विमलकुमार कार्की, २२ वर्षीया ईशा शाह, रुकुमपश्चिको सानोभरी गाउँपालिका १ की २६ वर्षीया यमुना रावल, २६ वर्षीय धनसिंह रावल रहेका छन्।

त्यस्तै, जाजरकोटको भेरी नगरपालिका-८ का ७९ वर्षीय टेकबहादुर शाही, १ की २ वर्षीया बालिका सुप्रभा विक, ७ वर्षका झुपेन्द्र परियार, ६४ वर्षका टीकाराम राना, १५ वर्षकी अनामिका शाही र १२ वर्षका पुष्कर परियारको उपचार भइरहेको छ।

यसैगरी सानोभरी-४ का ४५ वर्षका प्रेमचन्द्र वली, १७ वर्षका गोविन्द बुढाथोकी, २४ वर्षकी नवीना खड्का, ४ वर्षका लविश चन्द ६८ वर्षकी गौनी विक, २ का वर्ष ५ का सुशान्त पुनमगर, १ की २७ वर्षकी गुन्जन पुन रहेका छन्।

सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका ३२ वर्षीय मोहन विष्टको पनि उपचार भइरहेको छ। अन्यको परिचय खुल्न बाँकी छ।

यसैबीच भेरी अस्पतालमा उपचारका लागि ल्याइएका एक जनाको घाइते मृत्यु भएको छ। जाजरकोट नलगाड–१ निवासी ३३ वर्षीय टेकबहादुर पुनलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको अस्पतालका अध्यक्ष शाहले बताए।

उनका अनुसार भेरी अस्पतालमा थप उपचारका लागि ल्याएकामध्ये थप दुई जनाको अवस्था गम्भीर छ।

भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा १०५ बेड खाली राखिएको छ।

प्रकाशित मिति: : 2023-11-04 15:15:00

प्रतिकृया दिनुहोस्