भेरी अस्पतालको ताजा अवस्थाः कसरी हुँदैछ घाइतेहरूको उपचार ? (भिडियो) 

खलङ्गा भेरी–३ पीपलडाँडाका विमल कुमार कार्की यतिबेला नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका छन्। शुक्रबार घरमा एक्लै सुतिरहेका उनलाई स्थानीयवासीले उद्धार गरेका थिए।

हवाईमार्गबाट नेपालगञ्ज पुर्याइएका ४९ वर्षीय कार्की अहिले बेड नम्बर १३ मा उपचार गराइरहेका छन्।

शुक्रबार राति आएको भूकम्पबाट घाइते भएकाहरुको उद्धारपछि नेपालगञ्जमा उपचार भइरहेको छ। जाजरकोट र रुकुम पश्चिममा घाइते भएकाहरुमध्ये जाजरकोटबाट ल्याइएका २२ जना र रुकुम पश्चिमबाट ९ जना, सल्यानका १ सहित बाँके घर भएका जाजरकोटमा घाइते भएका १ जना गरी ३२ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ।

यीमध्ये जाजरकोटबाट ल्याइएका नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको बाटोमै मृत्यु भएको थियो। भेरी अस्पताल पुर्याइएका घाइते पुनलाई अस्पतालले मृत्यु भएको डिक्लेर गरेको थियो।

भेरी अस्पतालमा अहिले ८० बेडको व्यवस्थापन छ। त्यसैगरी आवश्यकताअनुसार बेड थप गर्न सक्ने भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले जानकारी गराएका छन्।

उद्धार गरी ल्याइएका घाइतेहरुलाई राँझा विमानस्थलबाट भेरी अस्पताल ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। यता भेरी अस्पताल परिसरमा रक्तदानसमेत आयोजना गरिएको छ।

प्रकाशित मिति: : 2023-11-04 17:46:00

प्रतिकृया दिनुहोस्