नवलपरासी (बर्दघाट सूस्ता पश्चिम)मा बर्दघाट नगरपालिका-४ अन्तर्गत दाउन्ने जंगलको खुर्सानी खोलास्थित पूर्वपश्चिम राजमार्गमा सडक भासिँदा नारायणघाट-बुटवल सडक खण्ड बन्द पुर्ण रुपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार मंगलबार रातिदेखी आएको वर्षातका कारण बिहान करिब ५ः५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि दुईतर्फी नै बन्द हो।
‘उक्त सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ५८२७ नम्बरको ट्रक सडकमा फसेको थियो। अहिले ट्रकलाई निकालेर सुरक्षित स्थानमा पठाइसकिएको छ भने बाटो मर्मत गर्ने काम सुरु हुँदै छ,’ उनले भने, ‘दुवैतर्फ गाडीको लामो जाम भएका कारण सवारी व्यवस्थापनमा समस्या भइरहेको छ।’
पानी पर्ने क्रम नरोकिएकाले त्यस क्षेत्र हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्नसमेत प्रहरीले आग्रह गरेको छ।