खानेपानी मन्त्री महेन्द्र राय यादवले नेपालमा पानीको स्रोत सुक्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उच्च हिमाली क्षेत्रमा मुहान रहेको पानीको विश्वमै माग भएपनि स्रोत सुक्दै गएको उनले बताए।
मोरङको उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाद्वारा सोमबार आयोजित ‘प्रथम र दोस्रो सहलगानी कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री यादवले भने, ‘नेपालको उच्च हिमाली क्षेत्रमा मुहान रहेको पानीको विश्वमै माग छ, तर पानीको स्रोत सुक्न थालिसकेको छ।’ नेपालमा मात्र नभएर संसारका सबै देशमा पानीको स्रोत घट्दै गएको उनले प्रष्ट्याए।
त्यस अवसरमा मन्त्री यादवले उर्लाबारीमा खानेपानी विस्तारका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘छठलगत्तै यसबारे सरकारले निर्णण गर्नेछ’, उनले भने।
संस्थाका अध्यक्ष चिन्तामणी पौड्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारीका नगर प्रमुख गंगा खरेल, एमाले उर्लाबारी नगर अध्यक्ष गंगा बास्तोलालगायतले बोलेका थिए।