सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन्।
निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिष्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिए।
सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई सुझाव दिए।
सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिइन्। भवन र उपकरण जडानलाई द्रुततासँगै गुणस्तरको प्रश्नलाई पनि त्यतिकै हेक्कामा राख्न आवश्यक रहेको बताउँदै उनले भनिन्, ‘हामीले काम चलाउभन्दा गुणस्तरमा बढी ध्यान दिनुपर्छ भन्ने पाटोमा गम्भीर छाैँ।’
सहरी विकास मन्त्रालय र निर्माण कम्पनी ‘टुण्डी सेक ज्वाइन्ट भेञ्चर’बीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार समयमै काम भएको भए यसअघि नै सो भवनमा सदन सञ्चालन भइसक्ने थियो। एक सय ५१ रोपनीमा ठूला साना गरी ११ वटा भवन निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटाको छानासम्मको काम भएको छ।
आगामी हिँउदे अधिवेशनसम्ममा पाँच वटा भवन तयार हुने ठेकेदार कम्पनीले बताउँदै आएको छ। सञ्चार, साउण्डसिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एशियामै नयाँ उपकरण जडान हुने गरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ।
आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको तथा सदनमा नवीनतम र गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको बताए। परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन्। भवन निर्माणका लागि अनुमानित खर्च रु छ अर्ब ९२ करोड भए पनि रु पाँच अर्ब दुई करोडमा सम्झौता भएको छ।
सरकारले चालु आर्थिक वर्षमा भवन निर्माण विनियोजन रु तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ। संसद् भवनभित्र मुख्य भवन आठवटा हुनेछन्। भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने साना ठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन्। यसका चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः एक सय र तीन सय जना अट्ने क्षमताका र तीन सय ९० वटा गाडी पार्किङ क्षमता हुनेछ।