उपचाररत भूकम्पका घाइते डिस्चार्ज हुँदै

भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन्।

जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ।

निको भएर घर फर्केका बिरामी तथा कुरुवालाई यातायातको प्रबन्ध गरिएको जानकारी दिँदै श्रेष्ठले आपतकालीन कार्यसञ्चालन केन्द्रले उनीहरुलाई चामल २५ केजी, दाल पाँच केजी, तेल दुई लिटर, कम्बल सेट एक र त्रिपाल एक थान प्रदान गरिएकाे बताए।

अस्पतालमा अहिलेसम्म भूकम्पमा परी घाइते भएकाको सङ्ख्या ४९ पुगेको श्रेष्ठले बताए। उनका अनुसार अस्पतालमा पाँच वर्षमुनिदेखि ६० वर्षमाथिसम्मका जाजरकोट, रुकुम पश्चिम र सल्यानका घाइतेको उपचार भइरहेको छ।

अस्पतालमा उपचार गराइरहेका अधिकांश बिरामीको हाडजाेर्नीसम्बन्धी समस्या देखिएकाले उपचारका लागि विशेषज्ञ चिकित्सकलाई परिचालन गरिएको केन्द्रले जनाएको छ।

अर्थोपेडिक सर्जन डा. प्रकाश थापा, डा. लक्ष्मण सिग्देललगायत चिकित्सकले घाइतेहरुको उपचार गरिरहेकाे फोकल पसर्न श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अधिकांश बिरामीको हाडजाेर्नी भाँचिएको, चर्किएको तथा टुटेको छ। अहिलेसम्म भूकम्पमा परी घाइते भएका १० जनाको सफल शल्यक्रिया भएको छ।

अस्पतालको सघन उपचार कक्ष तथा उपचार कक्ष बाहिर बिहान, दिउँसो र राति दुई/दुईजना स्वंयसेवक रहने गरी सहायता तथा सहजीकरण कक्ष सञ्चालन गरिएको फोकल पर्सन श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2023-11-08 15:10:00

प्रतिकृया दिनुहोस्