‘करबाकेली इको ट्रेक’मा पाँच दिने काब्ययात्रा 

कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूको एउटा टोलीले म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा काब्ययात्रा गरेका छन्।

करबाकेली बाबा संरक्षण समितिले टोलीलाई म्याग्दीको करबाकेली क्षेत्रका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व भ्रमण गराएको हो। काठमाडाैँदेखि सुरु गरिएको यात्रा कात्तिक १९ देखि २३ गतेसम्म ५ दिनमा पूरा गरेको थियो।

पर्यटन साहित्य यात्रामार्फत् करबाकेली क्षेत्रको प्रवर्द्धन उद्देश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट मल्लाज, बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका– ८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए।

त्यसैगरी दोस्रो दिन करबाकेली थानदेखि आलडाँडा हुदै फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल (३२१० मी.)हुँदै घोडेपानी भएर उल्लेरीसम्म पदयात्रा गरेका थिए।

पूर्वबेलायती गोरखा सेना चामबहादुर पुनको अगुवाइमा करबाकेली क्षेत्रको पहिचान र विकास गरिएको हो।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ। उनकै पहलमा २०७५ सालमा पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’को रुपमा विकास गरिएको थियो।

कात्तिक १९ गते काठमाडौंबाट बेनी बजार पुगेका काब्य-यात्रा टोलीलाई बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल र प्रथम उपाध्यक्ष राजेश शाक्यले खादा लगाएर बिदाई गरी करबाकेली यात्राको सफलताको लागि शुभकामना दिएका थिए।

उपाध्यक्ष तथा यवा उद्यमी राजेश शाक्यले बिदाईका बेला म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकीय गन्तब्यहरू प्रशस्तै रहेको बताए। मल्लिका धुरी, टोड्के, लभ्ली हिल, धौलागिरी सर्किट ट्रेकिङ ट्रेल, धौलागिरी स्याङचुरी ट्रेल, तातोपानी कुण्ड, गलेश्वर धामलगायत दर्जनौ भ्रमणको क्षेत्र रहेकोले भ्रमण गर्न निम्तो समेत उनले दिएका थिए।

टोली दोस्रो दिन बिहान बेनीबाट मल्लाज, वाँसखर्क, महभीर पुगेको थियो। महभीरमा त्यहाँका वासिन्दाले टोलीलाई स्वागत गर्दै स्थानीय परिकारको खाजा खुवाएका थिए। साँझ काब्य-यात्रीहरू महभीरको उकालो छिचोल्दै काफलडाँडा (२३३२ मि.) मा पुगेका थिए। उनीहरूका लागि करबाकेली नजिकै रहेको पाहुना घरमा खाना र बासको राम्रो ब्यवस्था गरिएको थियो।

आर्को दिन बिहानै टोलीले करबाकेली थानको दर्शन गरेका थिए र पुन समदायको संग्रहालयको अवलोकन समेत गरेका थिए। करबाकेली थान परिसरमा स्थानीयको उपास्थितिमा पुन समुदायको पुर्ख्यौली नाच प्रस्तुत गरेका थिए। कार्यक्रममा काब्ययात्री टोलीले आ-आफ्ना छोटो अनुभव समेत बाँडेका थिए।

काब्ययात्रीहरूले कविता सुनाएका थिए र ऐतिहासिक करबाकेली बाबाको थान, पुन समुदायको रीति-रिवाज र संस्कृतिको चर्चा गरेका थिए।

‘करबाकेली काब्ययात्रा -२०८०’ का संयोजक तथा समाजसेवी चामबहादुरले काब्ययात्री टोलीको भ्रमणले यस क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने बताए।

‘काव्ययात्रा धेरै उपलब्धीमुलक बन्यो’, सामाजिक अभियन्ता पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौं।’

त्यही दिन दिउँसो टोली आलडाँडा हुँदै फूलबारी होटलका सञ्चालक तथा करबाकेली इको ट्रेक अभियानका सदस्य यामबहादुर पुन र उनका परिवारले टोलीलाई न्यानो अथिति सत्कार गरेका थिए।

अर्को दिन विहानै फुलबारी (२९२५ मि.) बाट धौलागिरी र अन्नपूर्ण हिमश्रृंखलाका दृश्य अवलोकन गर्दै पुनहिलतर्फ उक्लेका थिए। पुनहिलमा करिब ८ बजे पुगेका टोली मनोरम हिमालका अवलोकन गरेर घोरेपानी हुँदै उल्लेरीसम्म पदयात्रा गरेका थिए। त्यही दिन उल्लेरीबाट पोखरासम्म जीपको यात्रा गरेर कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका थिए। उनीहरूले बीचमा तीन दिन पदयात्रा गरेका हुन्। यसरी ५ दिने काव्ययात्रा पूरा भएको थियो।

पुनहिलबाट करबाकेली थान हुँदै बेनी निस्कने ४ वटा बाटाहरू छन्।

पहिलो करबाकेलीबाट बैसेरी झर्ने, बैसरीबाट बेनीसम्म गाडीमा। दोस्रो महभीर भएर बाँसखर्क, मल्लाज हुँदै बेनीसम्म पदयात्रा। तेस्रो करबाकेलीबाट रिमा हुदै औल गाउँ भएर बैसेरीसम्म पदयात्रा। चौथौ कर्बाकेलीबाट राम्चे, नाँगी हुँदै फलामे डाँडा र बेनी बजार झर्ने।

यात्राका संयोजक चामबहादुर पुनका अनुसार काब्ययात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूतिहरू समेटेर एउटा पुस्तक प्रकाशन गरिने बताए। त्यसैगरी यात्रालाई समेटेर एउटा वृतचित्र पनि बनाइनेछ।

काव्य यात्रामा साहित्याकार प्रगती राई, प्रभा बराल, कुमारी लामा, अनुपमा रोशी, अभय श्रेष्ठ, हेमन्त विवश र सागर उदास थिए। त्यस्तै साइकल यात्री रञ्जन राजभण्डारी र कृष्णगोपाल श्रेष्ठलगायत पत्रकार राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर, घनश्याम पौडेलका साथै पर्यटनकर्मी तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ र संयोजक चामबहादुर पुनसहित १८ जना सहभागी थिए।

प्रकाशित मिति: : 2023-11-20 07:43:00

प्रतिकृया दिनुहोस्