एउटा चर्चभित्र २० वर्ष गुपचुप राखिएको ‘यौन अपराध’ को साम्राज्य

तस्बिर : बीबीसी
तस्बिर : बीबीसी

उनको यौन अपराध यतिसम्म क्रुर थियो कि उनले आफ्नै छोरी ओजाकालाई कैयौँ वर्षसम्म घरमै नजरबन्द गरिदिएका थिए। र उत्तिकै यातना पनि दिएका थिए। 


विश्वको सबैभन्दा ठूलो एभेन्जेलिका चर्चहरूका एकजना शक्तिशाली अगुवा टिबी जाेशुआले २० वर्षदेखि गर्दै आएको यौन अपराधको खुलासा भएको छ।

उनको यो डरलाग्दो यौन अपराधको पर्दाफास बीबीसीले तीन महादेशहरूमा पुगेर कम्तीमा दुई वर्ष लगाइ गरेकाे लामो अनुसन्धानपछि खुलासा गरेको हो।

यो भनेको अहिलेसम्म जीवितै रहेका दर्जनौँ पीडितका आफन्त तथा त्यो अपराधबारे थाहा पाउने साक्षीहरूमार्फत बीबीसीले विश्वभरका धेरै महिलाहरूलाई जोशुआले २० वर्षदेखि पटक पटक दुर्व्यवहार, बलात्कार र यौन शोषण गरिरहेको तथ्य हो।

युके, नाइजेरिया, अमेरिका, दक्षिण अफ्रिका, घाना, नामिबिया र जर्मनीमा रहेका कम्तीमा २५ जनाभन्दा बढी उनका अनुयायीहरूसँगको कुराकानीमा उनीहरूले आफूले देखेको र भोगेको जोशुआको यौनकर्मबारे भनेका छन्।

यो सनसनीपूर्ण यौन अपराधको आरोप खेपेका जोशुआ भने बितिसकेका छन्। उनी एक चर्चित टेलिभिजन प्रस्तोता पनि हुन्।

उनको यौन अपराध यतिसम्म क्रुर थियो कि उनले आफ्नै छोरी ओजाकालाई कैयौँ वर्षसम्म घरमै नजरबन्द गरिदिएका थिए। र उत्तिकै यातना पनि दिएका थिए।

उनका पूर्व अनुयायीहरूले भनेअनुसार जोशुआले आफ्नो अनुयायी बनेका नाबालिक किशोरीलाई बन्धक बनाएर लामो समयसम्म पटक पटक बलात्कार र यातनाबारे भयभित पार्ने बयान दिएका छन्।

चर्च अफ अल नेशन्समा सदस्य रहेका पाँच बेलायती युवतीहरूलाई पनि उनले वर्षौंसम्म बलात्कार गरेर पटक पटक गर्भपतन गराउन बाध्य पारेका थिए। बलजफ्ती गर्भपतन गराएकामध्ये एकजना त्यस्तो महिला पनि भेटिइन्, जसलाई जोशुआले पाँच पटकसम्म गर्भपतनका बाध्य पारेका थिए।

नाइजेरियाली यी क्रिश्चियन अगुवाले आफ्नो एउटा गोप्य निवासमा यो यौन अपराध २० वर्षसम्म गुपचुप चलाइरहे।

तर सिनागोग चर्च अफ अल नेशन्सले यी आरोपहरूलाई निराधार भएको भन्दै त्यसबारे कुनै जवाफ वा प्रतिक्रियाहरू दिन इन्कार गरेको छ।

सन् २०२१ मा संसार छोड्नुअघि उनी निकै आकर्षक व्यक्तित्वका रुपमा चिनिन्थे। उनी एक सफल र प्रभावकारी प्रस्तोता पनि हुन्। जसले विश्वभरि ठूलो संख्यामा अनुयायीहरू बनाएका छन्।

दुई वर्षसम्म बीबीसीले आफ्नो अनुसन्धानमा जाेशुआले महिलाहरूलाई बाँधेर राख्ने र उनीहरूलाई कोर्रा हान्ने गरेको निष्कर्ष निकालेको छ। साङ्लाले बाँधेर राखेका महिलालाई उनले कोर्राले हिर्काउँथे र बलात्कार गर्थे।

दर्जनौँ प्रत्यक्षदर्शीहरूले बालबालिकामाथि पनि जोशुआले यौन उत्पीडन र दुर्व्यवहार गरेको बताएका छन्।

सन् २०२१ मा मृत्यु भएको टिबी जोशुआ निकै आकर्षक व्यक्तित्व र अत्यन्त सफल प्रचारक र टेलिभिन्जेलिस्ट थिए, जसको विश्वभर ठूलो संख्यामा लाखौँ अनुयायीहरु थिए।

‘चमत्कारिक उपचार विधि’ भनेर बनाइएका उनका सयौँ भिडियोहरूमार्फत उनले संसारभरि आफूलाई पछ्याउनेहरूको जमात बनाएका थिए।

विश्वविद्यालयको डिग्री पढिरहेकी २१ वर्षीया एकजना बेलायती युवती सन् २०२० तिर चर्चमा छिरेकी थिइन्, जहाँ उनले जोशुआलाई नै आफ्नो महान् गुरु मानिन् र उनकै ‘सेवा’का लागि सयौँ अनुयायीमाझ उनले पनि त्यहाँ करिब १२ वर्ष बिताइन्।

‘हामीलाई लाग्थ्यो, हामी त स्वर्गमा छौँ। तर चारैतिरबाट अग्ला-अग्ला पर्खालले घेरिएको लागोसको त्यो क्रंक्रिटको बंगला भूलभुलैयाजस्तो थियो’, उनी भन्छिन्, ‘तर त्यो त यथार्थमा नरक नै रहेछ। जहाँ सबैलाई भयभित पार्ने अपराधहरू भइरहेका थिए।’

उनलाई एउटा ‘कालकोठरी’मा कैद गरिएको थियो। यौन शोषण गर्दै उनलाई जोशुआले दुई वर्षसम्म काराबासजस्तो जीवन बिताउन बाध्य पारे। पटक पटक जबर्जस्ती गर्भपतन गराए। यातना र दुर्व्यवहार सहन नसकेर उनले कैयौँ पटक त आत्महत्याको प्रयास पनि गरिन्।

सिनागोग चर्च अफ अल नेशन्स (स्कोआन) को विश्वव्यापी रूपमा लाखौँ अनुयायीहरू छन्।

स्कोआनले इमानुअल भनिने क्रिश्चियन टिभी च्यानल र लाखौँ दर्शकहरूसँग सोशल मिडिया नेटवर्कहरू सञ्चालन गर्दै आएको छ। सन् १९९० र २००० को दशकको सुरुमा युरोप, अमेरिका, दक्षिण पूर्व एसिया र अफ्रिकाबाट दशौँ हजार तीर्थयात्रीहरू नाइजेरियाको चर्चमा जोशुआको ‘रोग निको पार्ने चमत्कार’हरू देखेर आएका थिए।

नाइजेरियाको लागोस्थित जोशुआको एउटा भव्य र गोप्य अनि सुरक्षित निवासको कम्पाउन्डभित्र हजारौँ ‘अनुयायी’हरू दशकसम्मै बसेका थिए।

त्यो चर्चमा छिर्दा धेरैजसो त युवा र किशोरावस्थामा थिए। जसले आफ्नो उमेर बढ्दै जाँदा जोशुआको यौन शोषण र दुर्व्यवहारमा सहेर बिताए।

तीमध्येकी एक हुन्, नामिबियाकी जेसिका काइमु। जोशुआले बलात्कार गर्दा जेसिका १७ वर्षकी थिइन्। पटक पटक बलात्कृत उनलाई जोशुआले पाँच पटकसम्म गर्भपतन गर्न बाध्य पारेका थिए।

यी र यस्ता सबै गर्भपतनहरू निकै गोप्य र असुरक्षित हुन्थे। जसबाट उनीहरूको ज्यानै जोखिममा थियो। त्यसरी यौन शोषण गर्दा उनीहरूलाई निकै यातना पनि दिइन्थ्यो। जोशुआ र उनका पहरेदारहरूले महिलालाई बाँध्थे र बिजुलीका तार अनि घोंडा दौडाउने कोर्राले पिट्थे।

२०२१ को जुनमा मृत्यु भएपछि जोशुआलाई अफ्रिकी इतिहासमा सबैभन्दा प्रभावशाली पास्टरका रुपमा सम्मान गरिएको थियो। त्यतिबेला उनीबाट बलात्कृत र यातना पाएका कैयौँ महिलाहरूले उनीमाथि आरोपहरू लगाउन थालेका थिए।

एउटा गरिब परिवारमा जन्मिएका जोशुआले आफ्नो जीवनको ३ दशकभित्र नाइजेरियामा एभेन्जेलिकाको साम्राज्य नै बनाएका थिए। जसलाई राजनीतिक दल, नेताहरू, विभिन्न क्षेत्रका सेलिब्रेटीहरू तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूले समेत आदर र सम्मानका रुपमा लिन्थे।

चर्चा र सम्मानसँगै उनको ५८ वर्षे जीवनभरि उनी धेरै विवादहरूबाट पनि घेरिए।

सन् २०१४ मा उनकै संरक्षणमा रहेको एउटा चर्चको गेष्ट हाउस भत्किएको थियो र त्यहाँ कम्तीमा ११६ जना तिर्थालुको मृत्यु भएको थियो।

अहिले सञ्चारमाध्यममा बोल्न खोज्नेहरूले जोशुआविरुद्ध बोल्न चाहँदा चाहँदै उनीहरूलाई नबोल्न र मौन रहन बाध्य पारिएको बताएका छन्।

उनका विरुद्ध आवाज उठाउनेहरूलाई मानसिक यातनादेखि भौतिकरुपमै आक्रमण गरिन्थ्यो। केही सामाजिक सञ्जालहरूमा उनीविरुद्ध बोलिएका कुराहरू प्रसार हुन थालेपछि नाइजेरियामा त्यस्तो घटना भएको थियो। एक जनालाई उनका समर्थकहरूले गोली हानेर मारेका थिए।

२०२२ मा उनको निवास तथा चर्च कम्पाउन्डको भिडियो खिच्न खोज्ने बीबीसीका पत्रकारहरूलाई उनका समर्थक र सुरक्षार्थ बसेकाहरूले लखेटेका थिए। चर्चको सुरक्षामा बसेकाहरूले पत्रकारहरूलाई गोली हानेर केही घण्टासम्म हिरासतमा पनि राखेका थिए।

अहिलेसम्म उनीमाथि लागेका आरोपहरूलाई कुनै स्वतन्त्र न्यायालयले प्रमाणित भने गरेको छैन। तर अब भने उनका ती कर्तुतहरूबारे सार्वजनिक सञ्चार माध्यममा बोल्नेहरू प्रशस्तै भेटिन्छन्।

त्यो चर्चबाट भागेका चारजना बेलायती नागरिकले उनका विरुद्ध सुरक्षा निकायमा भनेका थिए। उनीहरूले भनेका कुराहरू सुरक्षाकर्मीहरूले टिपोट पनि गरेका थिए। तर उनीमाथि त्यसका आधारमा कहिल्यै कारबाही वा ‘एक्सन’ लिइएन।

जब कि कतिपय उनका सहयोगी, सहपाठी र उनी जोडिएका संघ संस्थाहरू भने ती आरोपलाई ठाडै अस्वीकार गर्छन् र कुनै जवाफ वा प्रतिक्रिया दिन आवश्यक ठान्दैनन्।

कसरी भयो जोशुआको उदय?

सन् १९६३ मा दक्षिण-पश्चिमी नाइजेरियाको ओन्डो राज्यस्थित एउटा सामान्य परिवारमा टेमिटोप बालोगुन जोशुआको जन्म भएको थियो। उनका बुबाले ब्रिटिश औपनिवेशिक प्रशासनको लागि अनुवादकको रूपमा काम गर्थे।

उनले आफ्नो प्राथमिक शिक्षा अरिगिडीको सेन्ट स्टिफन्स एङ्गलिकन प्राइमरी स्कुलमा पूरा गरेका थिए। बाइबलका हरेक शब्द शब्दमा सुरुवातदेखि नै जोशुआको राम्रो दखल थियो।

स्कुल पढ्दा पढ्दै उनको बुवाको मृत्यु भयो। अनि जोशुआ आफ्ना काकाको संरक्षणमा रहन थाले। तर उनका काका एक कट्टर मुस्लिम थिए। काकाले उनलाई एउटा मुस्लिम स्कुलमा भर्ना गरिदिएका थिए तर बाइबलको छाप लागिसकेको जोशुआको दिमागले त्यसलाई टिप्न सकेन।

त्यसपछि उनले काकालाई पनि छोडिदिए। त्यो स्कुल पनि छोडिदिए। बरु उनले बाहिर अरु सामान्य कामहरू गर्दै आफ्नो माध्यमिक पढाइ पूरा गरे।

सन् १९८७ मा उनी २४ वर्षका थिए। आफ्नै उमेर समूहका केही साथीहरूसँग मिलेर उनीहरूले ‘द सिनागोग, चर्च अफ अल नेशन्सको (स्कोन) गठन गरे।

लागोसको एगोडो-एग्बेस्थि एउटा पुरानो र जीर्ण घरबाट सुरु भएको त्यही चर्च पछि विश्वभरि नै चर्चित भयो।

‘चमत्कारिक उपचार’ र ‘भविष्यवाणी’का निकै अचम्म लाग्दा सन्देशहरूसहितका सामग्री उत्पादन गरेर उनीहरूले प्रचारप्रसार गर्न थाले।

त्यसैबाट उनलाई संसारभरिका लाखौँ मानिसले पछ्याउन थालेपछि जोशुआको ‘धर्म साम्राज्य’ पनि फैलिँदै गयो। र, उनी धर्म, सञ्चार अनि घर-जग्गाको व्यापार व्यवसायमा विशाल साम्राज्य फैलाउन सफल भए।

अफ्रिकी राजनीतिमा प्रभाव

टिबी जोशुआले अफ्रिकाको राजनीतिमाथि पनि ठूलै प्रभाव राखेका थिए। यो महाद्वीपभरि कुलीन वर्गका व्यक्ति, अफ्रिकी राष्ट्र प्रमुखहरू, राजनीतिज्ञहरू, व्यापारिक घरानाहरूलगायत विभिन्न क्षेत्रका सेलिब्रेटीहरूसमेत उनको ‘आध्यात्मिक मार्गदर्शन’को अनुयायी थिए।

घानाका पूर्वराष्ट्रपति जोन इभान्स एटा-मिल्स टिबी जोशुआको चर्चमा नियमित आगन्तुक थिए।

त्यस्तै लाइबेरियाका राष्ट्रपति जर्ज वेह, लाइबेरियाका राष्ट्रपति, नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथन र तान्जानियाका पूर्वराष्ट्रपति जोन मागुफुलीलगायत पनि उनलाई पछ्याउनेमध्येमा पर्थे।

विवादहरू

टिबी जोशुआले धेरै विवादास्पद भविष्यवाणीहरू गरेका थिए। उनले एकपटक आफ्ना अनुयायीहरूलाई कोभिड-१९ चमत्कारिक रूपमा हराउनेछ भनेका थिए। त्यस्तो केही भएन। बरु त्यो लामो समयसम्म रह्याे र अहिलेसम्म पनि छ।

समलैंगिकताको बारेमा उनी निकै रुढीवादी थिए। त्यसमाथि उनले निर्माण गरेका सामग्रीहरूका लागि युट्युबले उनलाई प्रतिबन्ध लगाएको थियो।

उनले सन् २०१६ को अमेरिकी चुनावमा महिला उम्मेदवारले जित्ने भविष्यवाणी पनि गरेका थिए। तर त्यसो भएन।

सन् २०१४ मा चर्च अफ अल नेशन्सको सिनागोगको एउटा गेस्टहाउस भत्कियो। ११६ जना मारिएको त्यो घटना अनुसन्धान गर्नेहरूले भवन निर्माणमा खराबी र कमजोरीहरू देखाएका थिए।

तर जोशुआले पत्रकारहरूलाई पनि आफ्नो हातमा लिए र दुर्घटनालाई एक ‘दैवीय घटना’ भनेर लुकाउने प्रयास गरेका थिए। सत्ता र राजनीतिसँगको सम्बन्धले यस्ता धेरै अभियोगहरूबाट उनलाई बचाएको थियो।

-बीबीसी र द कन्भरसेशनको सहयोगमा

बीबीसीले करिब २ वर्ष  लगाएर तयार पारेका ३ वटा एपिसोड:

एपिसोड-१

एपिसोड-२

एपिसोड-३

प्रकाशित मिति: : 2024-01-17 19:40:00

प्रतिकृया दिनुहोस्