स्व.खुमबहादुर खड्काको सालिक अनावरण

आज चैत १६ गते नेपाली काँग्रेसका नेता खुमबहादुर खड्ककाे स्मृति दिवस। यही दिन पारेर स्व.खड्काको सालिक अनावरण गर्न दाङ आइपुगेका छन्।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा काँग्रेस नेता स्व.खुमबहादुर खड्काको सालिक अनावरण गरेका हुन्।

नेपालगञ्ज विमानस्थल हुँदै दाङ आएका देउवाले स्व.खड्काको गृह जिल्लामा उनको निर्वाचन क्षेत्रमा निर्माण भएको पूर्ण कदको सालिक अनावरण गरेका हुन्।

आजै बाँकेको नेपालगञ्ज राँझा विमानस्थलमा सभापति देउवालाई काँग्रेस कार्यकर्ताहरुले स्वागत गरेका थिए। साथै नेपालगञ्जबाट समर्थक र कार्यकर्तासहित देउवा दाङ आइपुगेका हुन्। दाङ आइपुगेका सभापति देउवा आजै काठमाडौँ फर्किने छन्।

वि.सं. २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाको टोलीमा खुमबहादुर खड्का पनि थिए। पटकपटक मन्त्री भएका खड्काको दाङ देउखुरीको सतबरीयास्थित घरजग्गा माओवादीले कब्जा गरेपछि ललितपुरस्थित सानेपामा बसेर राजनीति गरेका थिए।

खड्का डिल्लीबजार कारागार चलान भए। तर रिहा हुँदासमेत उनका हजारौँ समर्थकहरुले विशाल र्‍यालीसहित संगठनमा फर्काए। २०४८ को पहिलो निर्वाचनमा उनि दाङ क्षेत्र नं. ३ बाट विजयी भएर पहिलो पटक भौतिक योजना र यातायात मन्त्री बन्दै मन्त्रीमण्डलमा पुगेका थिए। उमेरले २८ वर्ष लाग्दा उनी पार्टीमा केन्द्रीय सदस्य भएका थिए। २०५२ सालमा उनी गृहमन्त्री बने।

२०५८ मा गिरिजाप्रसाद कोइराला खेमा छाडेर खड्का देउवा समूहमा लागे। पार्टी फुटेपछिको नेपाली काँग्रेस (प्रजातान्त्रिक)को महामन्त्री पनि बनेका थिए।

वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा खुमबहादुर खड्का दाङ क्षेत्रनम्बर १ बाट उम्मेदवार थिए। तर माओवादीसँगकाे झडप र आक्रमणमा परे। लमही क्षेत्रमा माओवादी कार्यकर्ता र खड्काका कार्यकर्ताबीच झडप भयो। सुरक्षा अवस्था खराब भएपछि रातारात सुरक्षित रहन नेपालगञ्ज पुगे। राष्ट्र बैंकको गेष्ट हाउसमा सुरक्षा पहरामा बसे। त्यहीँबाट खड्काले चुनावी प्रतिस्पर्धाबाट आफू पछि हटेको सञ्चार माध्यममा जानकारी दिए। अनि उनी पराजितसमेत भए।

त्यसपछि उनको राजनीतिक यात्रा ओरालो लाग्यो। खड्का काँग्रेसभित्रको आन्तरिक कोपभाजनमा परे। तर संगठनमा उनको बर्चश्व कायम नै रह्यो। १३औँ महाधिवेशनमा देउवालाई सभापति बनाउन उनले खेलेको भूमिका महत्वपूर्ण रह्यो।

खड्कामाथि वि.सं. २०५९ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा पर्यो। अख्तियारले मागेको तीन करोड धरौटी २०५९ पौष १९ मा बुझाएर धरौटीमा रिहा भए। तर २०६३ सालमा विशेष अदालतले सफाइ पनि दियो।

फेरि खड्काको मुद्दा सर्वोच्च अदालत छिर्यो। सर्वोच्चले विशेष अदालतको फैसला त्रुटीपूर्ण रहेको भन्दै वि.सं. २०६९ मा सर्वोच्च अदालतले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री खड्कालाई दोषी ठहर गर्दै ९४ लाख जरिवाना र एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । फैसलाको ६० दिनभित्र अदालतमा उपस्थित भएकाले उनले २० प्रतिशत सजाय छुट पाएका थिए।

जीवनको उत्तरार्धमा खड्का हिन्दूत्वको अभियान लिएर हिँडिरहेका थिए। मिर्गौला प्रत्यारोपण गराएका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको २०७४ चैत १६ गते भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

स्व.खड्का वि.सं.२००८ जेठ १२ गते दाङको (साविक)धर्ना गाविस वडा नं. ६ भैंसापथरामा जन्मेका थिए। स्व.खड्कका श्रीमती, एक छोरा र एक छोरी छन्।

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङ क्षेत्र नम्बर १ प्रदेशसभा २ बाट निर्वाचित छन्। एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ३ हजार ५२ मत अन्तरले हराउँदै खड्का निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2024-03-29 12:29:00

प्रतिकृया दिनुहोस्