रेशम चाैधरीले ‘मार्ने धम्की’ दिएपछि त्रासमा नेता-कार्यकर्ता, छाेड्न थाले काठमाडाैँ

कमल प्रभात

काठमाडाैं

पार्टी संरक्षक रेशमलाल चाैधरीले ‘मार्ने धम्की’ दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता-कार्यकर्ता त्रसित छन्।

साेमबार बिहान काठमाडाैँकाे अनामनगरस्थित पार्टी कार्यालयमा जारी बैठकका क्रममा रेशमले ढाेका बन्द गरेर केन्द्रीय सदस्यमाथि कुटपिट गरेपछि आफूहरु त्रासमा रहेकाे संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले बिएल नेपाली सेवासँग बताए।

बैठकमा सहभागी हुन विश्वकर्मासहित टीकापुर नगरपालिकाका मेयर रामलाल डगाैरा थारु, टीकापुर नगरपालिका– ४ का वडाअध्यक्ष लालवीर चौधरी र टीकापुर– ५ का वडाअध्यक्ष बलवीर चौधरी पार्टी कार्यालय पुगेका थिए।

उनीहरु र रेशम चाैधरीबीच सुदूरपश्चिम प्रदेश सरकारमा सहभागीताबारे छलफल चलिरहेकाे थियाे। उनीहरु सुदूरपश्चिम सरकारमा जान नहुने बताइरहेका थिए भने रेशम जसरी पनि प्रदेश सरकारलाई साथ दिनुपर्ने अडानमा थिए।

त्यही क्रममा विश्वकर्माले रेशमलाई पार्टीमा तानाशाही प्रवृत्ति नदेखाउन आग्रह गरेका थिए। तर, सत्ता शक्तिका लागि श्रीमती तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग समेत निरन्तर विवाद गर्दै आएका रेशमले विश्वकर्माकाे कुरा कहाँ मान्थे र झनै जङ्गिए।

अन्तत: विवादका क्रममा विश्वकर्मामाथि कुटपिट भयाे। उनकाे छातीमा लात्ती र गालामा झापड हानियाे। अरु कार्यकर्ताहरुबीच पनि लछारपछार भयाे।

त्यसलगत्तै भृकुटीमण्डपस्थित रिपाेटर्स क्लबकाे कार्यालय पुगेर घटनाबारे खुलासा गरेर जमलस्थित हाेटल यल्लाे प्यागाेडा पुगेका विश्वकर्माले बिएल नेपाली सेवासँग आफू रेशमबाट असुरक्षित भएकाे गुनासाे गरे।

‘हिजाे उहाँ (रेशम)ले हत्या गर्ने धम्की दिनु भएकाे थियाे। आज ममाथि आक्रमण भयाे। कतै हाम्राे ज्यान तल-माथि हुने त हाेइन भनेर डर लागेकाे छ,’ विश्वकर्माले भने, ‘हामी त्रास काठमाडाैँ छाेड्नुपर्छ कि भन्ने साेचमा पुगेका छाैँ।’

बिहानकाे घटना हुनुअघि पनि रेशमले चार जना केन्द्रीय सदस्यहरुलाई ‘सुदूर सरकारबारे कुराकानी गर्न बालुवबाटार पुगे प्रधानमन्त्री निवासकाे गेटमा हत्या गर्ने’ धम्की दिएकाे विश्वकर्माले बताए।

रेशमले पटक-पटक धम्की दिएका कारण आफूले सुरक्षित महसुस गर्न नसकेकाे विश्वकर्माले बताए। 

भिडियाे :

प्रकाशित मिति: : 2024-04-01 17:20:00

प्रतिकृया दिनुहोस्