माओवादी नेता खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन जिल्ला अदालतले  कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या गरेको आरोप लागेका नेकपा माओवादीका नेता कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

शुक्रबार न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पूर्पक्षमा थुनामा पठाउन आदेश दिएको हाे।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडाैँको प्रहरी टोलीले मङ्गलबार साँझ ठमेलबाट पक्राउ गरेको थियो।

ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्वडिभिजन कमाण्डर ५० वर्षीय खामलाई बुधबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको थियाे। प्रहरीले बयानका लागि उनलाई अदालतमा पेश गरेकाे थियाे। अदालतले खामलाई थुनामा पठाउन आदेश दिएकाे हाे।

खाममाथि विसं २०६५ वैशाख २८ गते राति ८ बजेको समयमा कोटेश्वर व्यापारी श्रेष्ठलाई अपहरण गरी हत्या गरेको आरोप छ।

श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले अपहरण गरी हत्या गरेको भनी विसं २०६५ जेठ ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको किटानी जाहेरी दिएका आधारमा प्रहरीले खामको खोजी जारी राखेको थियो।

प्रकाशित मिति: : 2024-04-05 14:59:00

प्रतिकृया दिनुहोस्