गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम आइतबार अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

नेता अधिकारीले आजै एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए।

कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ।

राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

प्रकाशित मिति: : 2024-04-07 13:31:00

प्रतिकृया दिनुहोस्